
पोखरा स्पोर्टस । नेपाल भारोत्तोलन सङ्घको आयोजनामा २४औँ पुरुष तथा ९औँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आजदेखि मध्यपुरथिमिमा सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको राष्ट्रियतालाई सधैँ उच्च राख्ने दायित्व देशका हरेक नागरिकको भएको औँल्याए ।
भावी पुस्तालाई पनि राष्ट्रिय गौरबको काम गर्दै देशको नाम उच्च राख्न प्रेरित गर्नुपर्ने बताउँदै उनले खेल र उत्कृष्ट खेलाडीको जीवनीलाई विद्यालयस्तरदेखिनै पाठ्यक्रममा राख्नुपर्नेमा जोड दिए । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल एवम् खेलाडीको विकासका लागि विगतमा पनि सहयोग गर्दै आएको र अहिले पनि सहकार्य गरेको बताए ।
कार्यक्रममा सङ्घका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले युथ, जुनियर र सिनियर गरी पूरै विधामा ६ वटा इभेन्टसको एकैचोटी हुने प्रतियोगितामा विभिन्न जिल्लाबाट २२ वटा समूहमा १४० खेलाडीको सहभागिता रहेको जानकारी दिएका छन्।
आजदेखि २९ गते अन्तिम खेल सञ्चालन हुने प्रतियोगितामा जुनियर तथा सिनियर पुरुष ५५, ६१, ६७, ७३ ८१, ८९, ९६, १०२, १०९, १०९ केजी, युथ पुरुषतर्फ ४९, ५५, ६१, ६७, ७३, ८१, ८९, ९३, १०२, १०२ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । जुनियर तथा सिनियर महिला ४५, ४९, ५५, ५९, ६४, ७१, ७६, ८१, ८७, ८७ केजी युथ महिलातर्फ ४०, ४५ ४९,५५, ५९, ६४, ७१,७६,८१, ८१ केजी तौल समूमा प्रतिस्पर्धा हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए।
विजयीमध्ये महिलातर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० र पुरुषतर्फ ३० स्वर्ण, ३० रजत, कास्य ३० गरी १८० वटा पदक प्रदान गरिनेछ ।
सो अवसरमा शताब्दी पुरुष सत्यमोहन जोशीलाई नेपाल भारोत्तोलन सङ्घले सम्मान गरेको छ । सङ्घका अध्यक्ष श्रेष्ठले उनलाई ताम्रपत्र प्रदान गरेर सम्मान गरेका हुन् । कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, वडा नं ४ का वडाध्यक्ष कुमार श्रेष्ठ, नेपाली कांग्रेसका नेता रामकाजी त्वातीलगायतलाई सम्मान गरिएको थियो ।
त्यस्तै भारोत्तोलनमा पहिलो स्वर्ण पदक बिजेता कमल अधिकारी, महिलातर्फ सञ्जु चौधरी र विकास थापालाई जनही रु १० हजार पुरस्कारसहित सम्मान गरिएको थियो ।
गणेशले राखे राष्ट्रिय किर्तिमान
नेपाल प्रहरीका गणेश रानाभाटले २४ औं पुरुष तथा ९ औ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै किर्तिमान कायम गरेका हुन् । उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै किर्तिमानमा आफ्नो नाम लेखाएका हुन् ।
महतोले आजै आफ्नो नाममा काठमाण्डौमा आयोजना भएको तेश्रो सुनिललाल जोशी स्मृती भारोत्तोलन प्रतियोगितामा राखेको ९८ केजी तौलको किर्तिमानमा सुधार गर्दै १०० केजीको नयाँ किर्तिमान कायम गरेका थिए । लगतै महातोको किर्तिमानलाई रानाभाटले १०१ केजीका साथ तोड्दै किर्तिमानमा आफ्नो नाम लेखाएका हुन् ।
ठिमिस्थित पार्टि प्यालेसमा भएको प्रतियोगिताको समग्रमा भने उनी तेश्रो स्थानमा रहे । पहिलो स्थानमा सेनाका तुलाारामनै रहे । उनले स्न्याचमा ८३ केजी, क्लिनमा १०० गरि समग्रमा १८३ केजी भार बहन गरे । यस्तै दोश्रो स्थानमा गणेश रहे । उनले स्न्याचमा ७२ केजी, क्लिनमा १०१ केजी गरि समग्रमा १७३ केजी भार बहन गरे । तेश्रो स्थानमा बर्दियाका रमकुमार थारु रहे । उनले स्न्याचमा ६५ र क्लिनमा ९० केजी गरि कुलमा १५५ केजी भार बहन गरे ।
नेपाल भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको सोहि उमेर समूह अन्तरगत युथ तर्फ पर्शाका राजन पटेलले स्न्याचमा ४२, क्लिन एण्ड जर्कमा ६० केजी गरि कुलमा १०२ केजीका साथ स्सवर्ण हात पारे । यस तौल समूहमा युथमा प्रतिस्पर्धा गर्ने उनी एक्ला खेलाडी थिए ।
यस्तै जुनियर तर्फ बाँकेका विनित योगी थारुले स्वर्ण जिते । उनले स्न्याचमा ७० केजी, क्लिनमा ९० केजीका साथ कुलमा १६० केजी भारका साथ स्वर्ण हात पारका हुन् । दोश्रो स्थानमा रहेका पर्शाका धिरज गुप्ताले स्न्याचमा ६५ केजी, क्लिनमा ८० केजीका साथ कुलमा १४५ केजी भार बहन गरे । बर्दियाका सुदीप थारु कुलमा १४० केजीका साथ तेश्रो भए । उनले स्न्याचमा ६५ र क्लिनमा ७५ केजी भार बहन गरेका थिए ।
