पोखरामा अन्तर्राष्ट्रियस्तरको ‘आव्या क्लव’ सञ्चालनको तयारी

पोखरा स्पोर्टस । पोखरामा सर्वाधिक लगानीको हेल्थ क्लव सञ्चालन हुने भएको छ । पोखराको घारीपाटनमा १४ करोड लगानीमा ‘आव्या क्लव’ शुरु हुन लागेको हो । झण्डै ४ वर्ष अघिदेखि निर्माण कार्य शुरु भएको क्लव अब महिना दिन भित्रमै सञ्चालनमा आउने पोखरामा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सन् २०१८ मा नै आव्या क्लबको स्थापना भएपनि सन् २०२२ मा आएर क्लवले सेवा शुरु गर्न लागेको हो । कोरोनाका कारण लामो समय मुलुक बन्दाबन्दीमा रहकाले पनि क्लव सञ्चालनमा आउन ढिलाई भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

‘सर्वसुलभ मुल्यमा ५ देखि ८० वर्षसम्मका वर्गलाई लक्षित गरी क्लब सञ्चालन गरिने छ’–पोखराका पत्रकार माझ बोल्दै क्लवका निर्देशक किरण केसीले बताएका छन् । झण्डै २० रोपनी क्षेत्रफल रहेको आव्या क्लबमा अत्याधुनिक जीम सहित स्विमिङ पुल, रेष्टुरेन्ट, स्पा, साउन, स्टिम, उफ्रो, हार्ड टेनिस कोर्ट, कन्फ्रेन्स हल, योगा लगायतको सुविधा उपलब्ध रहेको छ । ११ हजार स्क्वायर फिटमा जिम सञ्चालन हुने जिमका सामग्री अमेरिकाबाट ल्याइएकोे केसीले जानकारी दिए । जीमहलमा एकै पटक तीन सय जनाले सेवा लिन सक्ने सो अवसरमा जानकारी दिइएको छ ।

क्लव निर्देशक निरोज लामाले क्लवको नाम ‘आव्या’को अर्थ प्रष्ट्याउँदै संसारको पहिलो पवित्र आत्मा आव्या भएको बताए । ‘आव्या सूर्यको पहिलो किरण पनि हो, यसले शरिर मात्र नभएर आत्मापनि शुद्धसंगै स्वस्थ्य राख्दछ’ लामाले भने । जीमलाई बडिविल्डिङ्गसंग मात्र नभएर आध्यात्म संग पनि जोडन लागेको उनको भनाई छ ।

पत्रकार सम्मेलनमा क्लवका निर्देशकहरु किरण केसी, रोशन केसी, प्रकास केसी, विश्वप्रकास गौतम, बरुण खड्का, सायव एबी मल्ल, निरोज लामा लगायतको परिचय गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close