
पोखरा स्पोर्टस । पोखराका तिन यूवा टेनिस खेलाडी प्रशिक्षण लिनका लागि काठमाडौं जाने भएका छन् ।
टेनिस प्रशिक्षणका लागि नेपालकै मुख्य केन्द्र मानिने धापाखेलस्थित टिम टेनिसले पोखराका तिन जना यूवा खेलाडीलाई प्रशिक्षणको अवसर दिएको हो । प्रशिक्षणमा जान लागेका खेलाडीमा गोविन्द नेपाली, सौगात विक र विष्णु नेपाली रहेका छन् ।

हालै पोखरामा सम्पन्न १८ औं माछापुच्छ्रे ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा उनीहरुको गतिशिल खेल देखेर टिम टेनिस प्रशिक्षण केन्द्र प्रभावित हुँदै उक्त अवसर दिएको नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थले बताएका छन् । कास्की जिल्ला टेनिस संघले उनीहरुको विदाई कार्यक्रममा बोल्दै उपाध्यक्ष कायस्थले यो अवसर पोखराको टेनिस विकासका लागि नयाँ ढोका उघ्रिएको बताए । उनले भने–“यो निकै राम्रो अवसर हो । जसरी माछापुच्छ्रे, अन्नपूर्ण, फेवातालले पोखरा विश्वमा चिनिन्छ त्यसरी नै हामी टेनिसको माध्यमबाट पोखरालाई विश्वमा चिनाउन चाहन्छौं ।”
मासिक प्रति खेलाडी ६० हजार खर्च लाग्ने खर्च उक्त प्रशिक्षण केन्द्रले निशुल्क गर्नेछ भने पोखराका यूवाहरुलाई सोही प्रशिक्षण केन्द्रका स्पेनिश प्रशिक्षक इनाकीले प्रशिक्षण दिनेछन् । प्रशिक्षणका दौरान काठमाडौंमा तिनै जनाको वसोवास लगायतको व्यवस्थापन खर्च नेपाल टेनिस संघका उपाध्यक्ष तथा नेपाली घर, काठमाण्डौका सञ्चालक राजु श्रेष्ठले व्यहोर्ने छन् । पोखराका तिनै जना खेलाडीलाई पहिलो चरणमा एक महिनाको प्रशिक्षण दिइनेछ भने आवश्यक्ता अनुसार समय लम्विन सक्ने उपाध्यक्ष कायस्थले पोखरा स्पोर्टसलाई बताए । उक्त प्रशिक्षण केन्द्रमा नेपालका ‘टप टेन’ खेलाडीहरु मध्ये आरभ सम्राट हाडा, नेहाल जङ्ग बहादुर थापा, अकी जुवेन रावत, सर्वाणी श्रेष्ठ लगायतले प्रशिक्षण गरिरहेका छन् । प्रशिक्षण केन्द्रले स्पेनबाट आएका प्रशिक्षकको मासिक तलव ३ लाख ६० हजार सहित अन्य सुविधा समेत प्रदान गरिरहेको उपाध्यक्ष कायस्थले बताए ।
विदाई कार्यक्रममा आफ्ना भनाई राख्दै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले टिम टेनिसलाई यो अवसर दिएकोमा आभार व्यक्त गर्दै खेलाडीलाई आफूले सिकेर आएको शिप पोखराका अन्य खेलाडीलाई समेत वाँड्न आग्रह गरे । “पोखराका खेलाडीहरुले राम्रो अवसर पाएका छन्” अध्यक्ष गुरुङले भने–“आफूले सिकेको शिप अन्यलाई समेत सिकाएर पोखराको टेनिस खेल विकासलाई गति दिन म आग्रह गर्छु ।”
करिव १२/१३ वर्ष देखि निरन्तर पोखराको टेनिस खेलमा आवद्ध यूवाहरुलाई कास्की टेनिसका उपाध्यक्ष राजु गुरुङ, सचिव नविन श्रेष्ठ, कार्यसमिती सदस्यहरु भिष्मराज पौडेल, प्राञ्जल कायस्थ, खेलाडी तथा प्रशिक्षकहरुले विदाई गरेका थिए ।
