अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ)ले सहयोग गरेको म्याट नेपाल आइपुग्यो

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आइएचएफ)ले नेपाललाई सहयोग गरेको आउटडोर ह्याण्डबल म्याट नेपाल आइपुगेको छ ।

आइएचएफले नेपालको ह्याण्डबल खेल विकासका लागि आउटडोर ह्याण्डबल म्याट सहयोग गरेको हो । करिव तिन वर्ष अघि नेपाललाई सहयोग स्वरुप दिने भनिएको उक्त म्याट शनिवार मात्रै नेपाल आइपुगेको छ । उक्त ह्याण्डबल म्याट पोखरा रंगशालास्थित आउटडोर ह्याण्डबल कोर्टमा राखिने भएको छ ।

फ्रान्समा उत्पादित गेरफ्लोर कम्पनीको उक्त ह्याण्डबल म्याट प्रक्रियागतरुपमा नेपाल आउन १८ महिना भन्दा वढीको समय लागेको छ । नेपाल ह्याण्डबल संघ स्थापनाको ४० वर्ष पछि अन्तर्राष्ट्रियस्तरको ह्याण्डबल म्याट नेपालले प्राप्त गरे पछि नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङले खुसी व्यक्त गरेका छन् । “लामो समयको प्रयास पछि हामीले यो ह्याण्डबल म्याट प्राप्त गरेका छौं । यो कार्य निकै सकशपूर्ण रह्यो । यो प्रक्रिया हामीले सोचे जस्तो सहज थिएन” उनले थपे–“अरुले गरेको सहयोग समेत नेपाल ल्याउन प्रक्रियागत रुपमा धेरै समय खर्च गरेका मात्रै छैनौ धेरै झञ्झट समेत व्यहोरेका छौं ।”

ह्याण्डबल म्याट पोखरा आइपुगेपछि प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव समेत रहेका गुरुङले आइएचएफ टिम, आइएचएफका अध्यक्ष डा.हसन मुस्ताफा, नेपाल सरकार यूवा तथा खेलकुद मन्त्रालय, अर्थ मन्त्रालय, गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद, राखेप सदस्यद्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ, कार्यवाहक अध्यक्ष रामकृष्ण केसी, कोषाध्यक्ष मिठाराम अधिकारी, नेपाल ह्याण्डबल संघ परिवारलाई आभार व्यक्त गरेका छन् । उक्त म्याट नेपाल ल्याउन सहयोग गर्ने हांसा लोजिष्टिक र उक्त कम्पनीका सुनित वैद्यलाई समेत अध्यक्ष गुरुङले आभार व्यक्त गरे ।

उक्त ह्याण्डबल म्याट नेपाल ल्याउन गण्डकी प्रदेश सरकारले १० लाख सहयोग गरेको थियो । तर म्याट नेपाल आइपुग्न भन्सार शुल्क लगायत ढुवानी गरी करिव १५ लाख भन्दा वढी खर्च लागेको छ । पोखरा रंगशालामा करिव २ वर्ष अघि निर्मित ह्याण्डबल कोर्टमा उक्त म्याट राखिने र गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदका लागि समेत निकै सहज हुने अध्यक्ष गुरुङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close