हिसान स्पोर्टस मिटको उपाधि लगातार चौथो पटक न्यू ग्यालेक्सीले उचाल्यो

पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा जारी १४ औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि लगातार न्यू ग्यालेक्सी मावीले उचालेको छ ।

न्यू ग्यालेक्सीले जारी प्रतियोगिताका ४ खेलका ६ इभेन्टमा १७ अंक बटुल्दै उपाधि उचालेको हो । चार दिन देखि जारी प्रतियोगितामा प्लस टु छात्र बास्केटबलतर्फ प्रथम, प्लस टु भलिवल छात्रा–छात्रामा दोश्रो र प्लस टु ब्याडमिन्टन छात्रा डबल्समा दोश्रो हुँदै च्याम्पियन भएको छ ।

सम्पन्न प्रतियोगितामा छात्र बास्केटबल फाइनलमा न्यू ग्यालेक्सीले पोखरा सेकेण्डरी माथी ६६–४९ स्कोरले जित हासिल गरेको छ । बास्केटबल छात्रतर्फ न्यू ग्यालेक्सीका सुमित गुरुङ उत्कृष्ट खेलाडी भए भने पोखरा सेकेण्डरीका लेजन गुरुङ सर्वाधिक स्कोरर घोषित भएका छन् । यसै गरी प्लस टु छात्रा बास्केटबलमा प्रतिभा मावी प्रथम भएको छ भने कास्की मोर्डनाइज्ड दोश्रो र माउन्ट अन्न्नपूर्णले तेश्रो स्थान हासिल गरेको छ । छात्रा बास्केटबलमा प्रतिभाकी बन्दना थकाली उत्कृष्ट खेलाडी र सोही विद्यालयकी कुसुम गुरुङ सर्वाधिक स्कोरर घोषित भइन् ।

प्रतियोगिता अन्तर्गत विश्वविद्यालय छात्रतर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट प्रथम, इन्फरमेटिक्स दोश्रो र लेक सिटी कलेजले तेश्रो स्थान हासिल गरेको छ भने छात्रा तर्फ पोखरा लिंकन प्रथम, पोखरा इन्जिनियरिङ दोश्रो र पोखरा कलेज अफ म्यानेजमेन्ट तेश्रो भएको छ । छात्र बास्केटबलमा पिसिएमका दिपेन खवास उत्कृष्ट र इन्फरमेटिक्सका मनमोहन सिंह सर्वाधिक स्कोरर घोषित हुँदा छात्रातर्फ पोखरा लिंकनकी दिपिका गुरुङ उत्कृष्ट र सोही विश्वविद्यालयकी अनिशा गुरुङ सर्वाधिक स्कोरर घोषित भएका छन् ।

यसै गरी प्लस टु कक्षा ११–१२ अन्तर्गत छात्र भलिवलमा स्पाइरल ग्यालेक्सी प्रथम हुँदा न्यू ग्यालेक्सी दोश्रो र करुणानिधी एजुकेशन फाउण्डेशनले तेश्रो स्थान प्राप्त गर्न सफल भएका छन् । त्यसैगरी छात्रा भलिवलमा टप्स मावी प्रथम हुँदा न्यू ग्यालेक्सी दोश्रो र स्पाइरल ग्यालेक्सीले तेश्रो स्थान प्राप्त गरेको छ । छात्र भलिवलमा स्पाइरल ग्यालेक्सीका विष्णु बस्नेत उत्कृष्ट र वेष्ट स्पाइकरको उपाधि न्यू ग्यालेक्सीका सुजन खड्काले जित्न सफल भएका छन । छात्रा भलिवलमा न्यू ग्यालेक्सीकी शान्ती गुरुङ उत्कृष्ट खेलाडी घोषित हुँदा वेष्ट स्पाइकर टप्स मावीकी ममता डगौरा भएकी छन् ।

त्यसै गरी प्लस टु कक्षा ११–१२ अन्तर्गत ब्याडमिन्टन छात्रतर्फ प्रगती मावीका सशांक अधिकारी र छात्रातर्फ करुणानिधीकी शितल केसी उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै विश्वविद्यालयतर्फको व्याडमिन्टनमा पोखरा कलेज अफ म्यानेजमेन्टका इशान खडका र सोही कलेजकी मेनुका गुरुङ उत्कृष्ट खेलाडी घोषित भइन् । टेबल टेनिस प्लस टु कक्षा ११–१२ अन्तर्गत छात्रतर्फ सृजनाका प्रवेश बानिया उत्कृष्ट हुँदा न्यू डायमण्डकी पार्वती श्रेष्ठ उत्कृष्ट खेलाडीको उपाधि पाइन् भने यता विश्वविद्यालय टेवल टेनिसतर्फ सोच कलेजका आशिष घिसिङ र पेककी प्रगती गौतमले उत्कृष्ट हुन सफल भइन् ।

१४ औं हिसान स्पोर्टस मिटका विजेता खेलाडी तथा टिमहरुलाई गण्डकी प्रदेशका शिक्षा, संस्कृती, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ, हिसानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष नवराज पाण्डे, प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, गण्डकी विश्वविद्यालयका रजिष्ट्रार डा.कैलाश तिमिल्सिना, जिल्ला खेलकुदका अध्यक्ष तोरण बहादुर बाँनिया, हिसानका केन्द्रिय सल्लाहकार सूर्य बहादुर जिशी, हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्का, प्यावसन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेल, प्रतियोगिताका संयोजक डा. रामजी शर्मा, हिसानका कास्कीका उपाध्यक्ष दिवाकर जैशी, पूर्व अध्यक्ष बाबुराम पन्त लगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

गत पुष ८ गतेबाट सञ्चालन भएको प्रतियोगितामा प्लस टु कक्षा ११–१२ तर्फ ४९ र विश्वविद्यलायतर्फ ८ गरी ५७ विद्यालयका ३ हजार विद्यार्थी १४ औं संस्करणको हिसान स्पोर्टस मिटमा सहभागी भएका थिए । हिसान कास्कीमा ७१ विद्यालयहरु आवद्धता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close