
पोखरा स्पोर्टस । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १४ औं संस्करणको हिसान स्पोर्टस मिट जारी रहेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत प्लस टु लेभल भलिवल छात्रतर्फ ८ खेल र छात्रातर्फ ६ गरी १४ खेल सम्पन्न भएका छन् । दोश्रो चरण अन्तर्गत भएको छात्रतर्फको खेलमा सृजना मावी, पश्चिमाञ्चल मावी, माउन्ट अन्नपूर्ण, पोखरा सेकेण्डरी, गुरुकुल मावी, लिटिल स्टेप मावी, जुनियर सिटिजन एकेडेमी र भाष्कर मेमोरियल मावी विजयी भएका छन् ।
त्यसै गरी छात्रातर्फ स्पाइरल ग्यालेक्सी, माउन्ट अन्नपूर्ण, डायमण्ड मावी, न्यू ग्यालेक्सी, मल्टी मोडल र पोखरा सेकेण्डरी स्कुल विजयी भएको भलिवलका संयोजक खिम गुरुङले जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत नै छात्र/छात्रा बास्केटबलका पहिलो चरणमा १६ खेल सम्पन्न भएका छन् । जस अन्तर्गत छात्र बास्केटबलमा रेन्वो एकेडेमी, माउन्ट अन्नपूर्ण मावी, प्रतिभा मावी, न्यू ग्यालेक्सी मावी, वाल कल्याण, कास्की मोर्डनाइज्ड, टप्स मावी र पोखरा सेकेण्डरीले आ–आफ्नो खेल जितेका छन् भने छात्रातर्फ टप्स मावी, माउन्ट अन्नपूर्ण, प्रतिभा मावी, मनकामना मावी, कास्की मोर्डनाइज्ड, गुरुकुल मावी विजयी भए । प्रतियोगिता अन्तर्गत नै विश्वविद्यालय छात्रातर्फ भएको एक मात्र खेलमा पोखरा लिंकन विजयी भएको बास्केटबलका संयोजक पुष्पराज पराजुलीले जानकारी दिए ।
यता व्याडमिन्टन विश्वविद्यालयतर्फ छात्र सिंगल्समा इन्फरमेटिक्सका विवेक थापा, सोही विश्वविद्यालयका सन्देश थापा, पिएलआइसीका आशिष गुरुङ सिंगल्सतर्फ विजयी भएका छन् भने छात्रातर्फ पिसिएमकी मेनुका गुरुङ र सृष्टी गुरुङ, पेककी जानकी बडु तथा पिएलआइसीकी अन्तरा राना विजयी भएका छन् ।
प्लस टु छात्रा/छात्रा व्याडमिन्टनमा सिंग्लस र डव्लसमा पहिलो चरण अन्तर्गत ८५ वटा खेलहरु सम्पन्न भएका छन् । पोखरा रंगशालामा भइरहेको छात्र/छात्रा टेवल टेनिसतर्फ शुक्रबार पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् ।
प्रतियोगितामा प्लस टु कक्षा ११/१२ अन्तर्गत ४९ र विश्वविद्यालयतर्फ ८ गरी कुल ५७ विद्यालयका करिव ३ हजार विद्यार्थीहरुको सहभागिता रहेको र करिव ८ हजार विद्यार्थी परोक्षरुपमा सहभागिता रहेको प्रतियोगिताका संयोजक डा. रामजी शर्माले जनाएका छन् ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी ७१ शैक्षिक संस्थाहरु आवद्य छन् ।
