
पोखरा स्पोर्टस । प्रधानसेनापति प्रथम राष्ट्रिय टेनिस प्रतियोगितामा पुरुष सिङ्गलतर्फको उपाधि कास्की पोखराका प्रदीप खड्काले जितेका छन् ।
सैनिक मुख्यालय परिसरमा मंगलबार आयोजित प्रतियोगितामा बुटवलका ऋतिक रानालाई ७–५, ६–१ को सोझो सेटमा पराजित गर्दै प्रदिपले उपाधि उचालेका हुन्। प्रधानसेनापति प्रभुराम शर्माले प्रतियोगिताका विजयी र उपविजयी खेलाडीलाई क्रमशः जनही रु ५० हजार र २५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरे ।
नेपाल टेनिस सङ्घको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित प्रतियोगितामा मुलुकका १५ क्लवका १८५ खेलाडीको सहभागिता थियो । विभिन्न १२ ‘इभेन्ट’ २०१ प्रतिस्पर्धा भएको सो प्रतियोगिता गत मङ्सिर २७ गते प्रारम्भ भएको हो । प्रतियोगितामा महिला एकलतर्फ सलोनी तामाङ र डबल्सतर्फ एपिएफका सर्भानी श्रेष्ठ र सलोनी तामाङ प्रथम भइन् ।
यसैगरी पुरुष डबल्सतर्फ जीतेन्द्र परियार र प्रणव खनाल, भेट्रान्स ३५ वर्ष माथि एकलमा जीतेन्द्र परियार, डबल्समा निमा लामा र सुमित मैनाली, भेट्रान्स ४५ वर्ष माथि एकल चन्द्र शाही, डबल्समा कृष्णराज घले र महेश श्रेष्ठ प्रथम भए । त्यस्तै भेट्रान्स ३५ वर्ष माथि एकलमा विमलकुमार गुरुङ, डबल्समा कृष्णराज घले र सूवर्ण ढक्का, भेट्रान्स ६५ माथि एकलमा विदुर विष्ट प्रथम भए भने ईन्टर गर्भमेन्टलतर्फको उपाधी उत्तम बोगटी र चन्द्रबहादुर थापाले जितेका छन् ।
प्रतियोगिताका विजयी टोली र खेलाडीलाई प्रधानसेनापति शर्मा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, बलाकृतरथी बालकृष्ण कार्की, बलाध्यक्षरथी सरोजप्रताप राणा, प्रहरी महानिरीक्षक शैलेश थापा र नेपाल टेनिस सङ्घका अध्यक्ष ज्योति राणाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
नेपालमा टेनिस खेलको विकास र विस्तारमा सहयोग पु¥याउने एवम् टेनिस खेलको सिप विकास, कौशल र क्षमता अभिवृद्धि गर्ने उद्देश्यकासाथ आयोजना गरिएको उक्त प्रतियोगिताका विभिन्न उमेर समूह र विधाका खेलाडी संलग्न गराइएको नेपाली सेनाले जानकारी दिएको छ ।
प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस सङ्घ, काठमाडौं जिल्ला टेनिस सङ्घ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवनआर्मी क्लब, नेपला पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला, भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लव, रुपन्देही लन टेनिस सङ्घ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स क्लबको सहभागिता थियो ।
समारोहमा सैनिक तालिम महानिर्देशक निरञ्जनकुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयले प्रतियोगिता आयोजना गरिएकोे बताउनुभयो । प्रतियोगितामा सेनाको त्रिभुवन आर्मी क्लवले च्याम्पियन भई शिल्ड प्राप्त गर्न सफल भयो ।
