
पोखरा स्पोर्टस । पोखराका प्रदिप खडका काठमाण्डौमा जारी प्रथम प्रधान सेनापति कप राष्ट्रिय टेनिस प्रतियोगिताको सिंगल्सतर्फ उपाधि नजिक पुगेका छन् ।
प्रदिपले सोमबार सम्पन्न सेमिफाइनलमा नेपाल आर्मीका अकी जुवेन रावतलाई ६–०, ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन । प्रदिप फाइनलमा बुटवलका ऋतिक राना संग भिड्ने छन् । ऋतिकले आज भएको सेमीफाइनलमा प्रनव खनाललाई ६–७, ६–४ र ६–२ को सेटमा पराजित गरेका थिए ।
डबल्समा पोखराको पुरुष टिम उपविजेता
यता पुरुष डवल्सतर्फ सोमबार भएको फाइनलमा पोखराको टिम उपविजेता भएको छ । पोखराका प्रदिप खड्का र सन्तोष खत्रीको जोडी प्रनब खनाल र जितेन्द्र परियारको जोडि सङ सोझो सेट ६-२, ६-४ ले पराजित हुँदै उपबिजेतामा सिमित बने ।
यता ३५ वर्ष माथी पुरुष डबल्सतर्फको सेमीफाइनलमा भने पोखराको धरम सिंह लामिछने र रोवर्ट जे हानको जोडी पराजित भएका छन् ।
जयकर मेमोरियलमा पोखराको बिजयी सुरुवात
यता ललितपुरमा जारी जयकर मेमोरियल टेनिस प्रतियोगिताको जुनियरतर्फ पोखराका खेलाडीहरुले बिजयी सुरुवात गरेका छन् । पोखराका स्पन्दन उदासले काठमाण्डौका आरध्या टन्डनलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गर्दै विजयी यात्रा सुरुवात गरेको कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठले जनाएका छन् ।
