शिक्षक भलिबलको उपाधि रूपाज्योतिलाई, छात्रतर्फ विश्वशान्ति विजयी

पोखरा स्पोर्टस । कास्कीको रूपाज्योति माध्यमिक विद्यालयद्वारा आयोजित मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधि आयोजक विद्यालयले जितेको छ ।

रूपा गाउँपालिका–६, तालबेंसीमा सञ्चालित विद्यालयले आफ्नो ४१ औँ वार्षिकोत्सवको सन्दर्भ पारेर आयोजना गरेको प्रतियोगितामा चन्द्रप्रभा मावि, भिरचोकलाई २–१ सेटमा पराजित गर्दै रूपाज्योतिले उपाधि हात पारेको हो । सोही अवसरमा आयोजित अन्तरविद्यालय छात्र भलिबल प्रतियोगितामा विश्वशान्ति मावि, देउरालीले आयोजक रूपाज्योतिलाई २–१ को सेटमा पराजित गरेको थियो ।

दुवै प्रतियोगितामा गाउँपालिकाभित्रका ९ ओटा माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो । शिक्षक र छात्र दुवै प्रतियोगितामा प्रथम हुनेले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ८ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा शिक्षक भलिबलतर्फ रूपाज्योति माविका भगवान् थापा र छात्रतर्फ विश्वशान्ति माविका एलन ठकुरी उत्कृष्ट खेलाडी घोषित भएका थिए । प्रतियोगिताको प्रायोजन राइट फर चिल्ड्रेन र रूपा गाउँपालिकाले गरेका थिए ।

विजेतालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्र गुरुङ, पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष कमलबहादुर थापा, राइट फर चिल्ड्रेनका प्रमुख कार्यकारी अधिकृत अनिल पौडेल, विद्यालयका प्रधानाध्यापक मनिराम कडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

यसअघि प्रतियोगिताको उद्घाटन गर्दै रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रूपाले शैक्षिक क्षेत्रमा गरेको लगानीको प्रतिफल क्रमशः देखिन थालेको बताए । तालबेंसीलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने गरी कार्य अघि बढेको जानकारी गराउँदै ओझाले विद्यालय र शैक्षिक क्षेत्रको विकासका लागि रूपाले सधैँ प्रयास गर्ने प्रतिबद्धता जनाए । कार्यक्रममा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्दिप पौडेल, रामकोट माविका प्रधानाध्यापक भरतमणि भट्टराई, राइट फर चिल्ड्रेनका विष्णु अधिकारीलगायतले शुभकामना दिएका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देगेन्द्रकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन सत्रमा विद्यालयको प्रधानाध्यापक मनिराम कडेलले स्वागत तथा सहायक प्रधानाध्यापक सङ्गीता आचार्यले समेत आफ्ना भनाई राखेका थिइन् ।

वि. सं. २०३७ मा स्थापित विद्यालयमा हाल कक्षा १० सम्म १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close