अन्तर्राष्ट्रिय स्पर्धामा नेपाली खेलाडीहरुको प्रदर्शन सुर्धान ‘हाई पर्फमेन्स कमिटी’

केशव पाठक/पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरु प्रदर्शन सुधार गर्न राष्ट्रिय खेलकुद परिषद (राखेप)ले पहिलो पटक एक खेलकुद विज्ञ र नेपाल ओलम्पिक कमिटी सहितको कार्यदल ‘हाई पर्फमेन्स कमिटी’को गठन गरेको छ ।

‘हाई पर्फमेन्स कमिटी’ नामाकरण गरिएको उक्त कमिटी गठनका लागि राखेपले हालै पहल शुरु गरेको हो । लामो समय देखि अन्तर्राष्ट्रिय प्रतियोगिता विशेष गरी ओलम्पिक र एशियाली खेलकुदमा नेपाली खेलाडीहरुको प्रदर्शन सहभागिताका लागि मात्रै सिमित भए पछि त्यसको सुधार संगै खेलाडीहरुलाई उच्च मनोवल तथा समास्याहरुको समाधानका लागि कार्यदल गठन गरिएको हो ।

खेलकुद विकास ऐन २०७७ को दफा ४२ अनुसार गठन गरिएको उक्त ‘हाई पर्फमेन्स कमिटी’मा राखेप अन्तर्गतका विभागहरु तालिम तथा प्रशिक्षण विभाग, राष्ट्रिय टिम तयारी समिती, खेलकुद विज्ञान प्रतिष्ठान रहेका छन् भने नेपाल ओलम्पिक कमिटीको प्रतिनिधी समेत उक्त कमिटीको सदस्यमा रहेको छ । त्यसै गरी खेल विज्ञका रुपमा पार्थसारथी सेन गुप्ता (मिठु) र सुमन डिसी तथा सदस्य सचिवका रुपमा तालिम तथा प्रशिक्षण विभागका उपनिर्देशक हिमालराज दाहाल रहेका छन् ।

हाइ पर्फमेन्स टिमको कार्यनिर्देशमा के छ जिम्मेवारी

गठन गरिएको उक्त हाई पर्फमेन्स कमिटी’लाई १० वटा विभिन्न कार्यदेश पुरा गर्न राखेपले जिम्मेवारी दिएको छ । जस अन्तर्गत नेपालले सहभागिता जनाउने सम्भावित खेलहरुको पुष्ट्याँई र संख्या निर्धारण गर्ने, आगामी एशियाली खेलकुदमा नेपालले खेलगत रुपमा सहभागी हुने खेलाडीहरुको कोटा निर्धारण गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता जनाउने खेलगत खेलाडीहरुको स्वच्छ, निष्पक्ष तथा निर्विवाद रुपमा उत्कृष्ट खेलाडीको छनोट गर्ने रहेका छन् ।

त्यसै गरी राष्ट्रिय टिम तयारीका लागि दक्ष प्रशिक्षकको छनोट गर्ने, वन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको प्रशिक्षण पद्धतीको अनुगमन तथा निरिक्षण गरी त्रुटीहरुको तत्कालै समाधान गरी देखिने गरी नतिजा दिने, राखेपबाट खेलाडीहरुले प्राप्त गर्ने सुविधाका बारेमा सुधार गरी समायनुकुल बनाउन, प्रशिक्षणका समयमा प्रशिक्षण सामाग्री र पद्धतीको पहिचान गरी उचित व्यवस्थापन गर्ने, राष्ट्रिय खेलहरु संघहरु संगको समन्वयलाई तिव्रता दिने रहेका छन् ।

नेपाल ओलम्पिक कमिटीले समेत अन्तर्राष्ट्रिय ऐरिनमा खेलाडीलाई उच्च मनोवल प्रदान गर्न कार्यदल गठनका लागि सुझाव दिंदै आएको थियो । केही दिन अघि मात्रै यूवा तथा खेलकुद मन्त्रीको स्वागत कार्यक्रममा समेत एनओसीले कार्यदल बनाउन मन्त्रीलाई सुझाव दिएको थियो । नेपाली खेलाडीको अन्तर्राष्ट्रिय प्रदर्शन सुधार गर्न राखेप र ओलम्पिक कमिटीको सहयात्रा महत्वपूर्ण हुने विश्वास एनओसीको थियो जुन यो कार्यदलको गठन पछि केही पुरा भएको अनुमान भने गर्न सकिन्छ ।

राखेपका सदस्य सचिवले टंकलाल घिसिङले राष्ट्रिय टिमको प्रदर्शन व्यवस्थित गर्न राखेपले हाइ पर्फमेन्स कमिटी गठनको तयारी गरिरहेको जानकारी दिएका छन् । उनले नेपाली खेलकुदमा नयाँ उपलब्धी हासिल गर्न खेलाडीलाई उच्च मनोबलका साथ प्रदर्शनका लागि खेलाडीले व्यवस्थापनमा नभइ आफ्नो खेल र प्रशिक्षण तिर मात्र ध्यान दिन आवश्यक रहेकोले राखेपले हाइ पर्फमेन्स कमिटी गठनको कुरा अघि बढाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close