
पोखरा स्पोर्टस । खेलकुद विकास र सामाजिक क्षेत्रमा कृयाशिल संस्था टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गर्ने ‘दोश्रो टाइगर कप आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप पुरुष/महिला प्रतियोगिता २०७८’ सञ्चालन बारे आफ्नो तयारी शुरु गरेको जानकारी गराएको छ ।

शनिवार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी शुरु भएको सार्वजनिक गरेको हो । पोखरा रंगशालाको भलिवल टे«निङ्ग सेन्टरमा पुषको २६ गते देखि माघ १ गते सम्म हुने उक्त प्रतियोगितामा महिला/पुरुषतर्फ विभागिय टिमहरु सहित विभिन्न राष्ट्रिय क्लवका गरी १० टिमको सहभागिता हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिएका छन् ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ टिम गरी कुल १० टिमको सहभागिता रहने भएको छ । जसमा पुरुषतर्फ विभागिय टिमहरु नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीवल, हेल्प नेपाल स्पोर्टस क्लव र गण्डकी प्रदेशको टिम रहनेछन भने महिलातर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यू डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा, नेपालको सहभागिता रहनेछ । दोश्रो संस्करणमा संस्थाले आफ्नै महिला टिमलाई मैदानमा उत्राने भएको हो । उक्त टिमको नेतृत्व राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले गर्ने भएकी छन् । यो पटक टिमले विदेशी खेलाडी भित्रयाउन पाउने प्रावधानलाई समेत खुल्ला गर्ने भएको छ । नेपाल भलिवल संघको नियमनुसार टिमहरुले विदेशी खेलाडी भित्रयाउन पाउने नेपाल भलिवल संघका कार्यबाहक अध्यक्ष याम गुरुङले बताए ।
प्रतियोगितामो पुरस्कार राशी समेत गत संस्करण भन्दा दोब्बर गरेको अध्यक्ष शर्माले जनाएका छन् । महिला/पुरुष उपाधी विजेता टिमलाई समान नगद रु ३/३ लाख, उपविजेता महिला÷पुरुष टिमलाई समान नगद रु १ लाख ५० हजार, तेश्रो हुने महिला/पुरुष टिमलाई समान नगद रु ७५ हजार र सान्त्वना हुने महिला÷पुरुष टिमलाई नगद ३५ हजार प्रदान गर्ने निर्णय गरिसकेको अध्यक्ष शर्माले बताए । यसै गरी महिला/पुरुषतर्फ उत्कृष्ट १/१ जना खेलाडीलाई समान नगद २५/२५ हजार र अन्य विद्यागत तर्फ समान नगद १०/१० हजार पाउने संस्थका सचिव प्रकाश बरालले जानकारी दिएका छन् ।
पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताका लागि टाइगर ग्रुपले विशेष तयारी थालेको छ अध्यक्ष शर्माले जनाएका छन् । प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन विभिन्न उपसमिती गठन गर्नुका साथै विशेष प्रकारको ‘फोल्डिङ’मञ्च निर्माण गर्ने तथा १५ हजार दर्शक क्षमताको प्यारापिट निर्माण गरिने अध्यक्ष शर्माले पोखरा स्पोर्टसलाई बताए । वृद्ध–वृद्धालाई खेल हेर्न छुट्टै व्यवस्था संगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई विशेष सुविधा दिइने उनको भनाई थियो । प्रतियोगिताको संयोजकमा शिव श्रेष्ठ र सह संयोजकमा गोविन्द थापा मगर रहेका छन् ।
प्रतियोगितालाई भव्य संगै मर्यादित रुपमा अघि बढाउन सबैको सहयोगको खाँचो औल्याउँदै स्वदेश तथा विदेशबाट प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक एवम नैतिक सहयोगका लागि समेत अध्यक्ष शर्माले आग्रह गरेका छन् । प्रतियोगिताका लागि गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी लगायतको सहयोग रहने जानकारी दिंदै अध्यक्ष शर्माले गत संस्करणमा सहयोग गर्ने सम्पुर्ण सहयोगीहरु संघ संस्थालाई समेत आभार व्यक्त गरेका छन् ।
