
पोखरा स्पोर्टस । जापानी विद्यार्थीहरु र नेपालकी ओलम्पियन सरस्वती चौधरी विच एक अन्तक्रिया सम्पन्न भएको छ ।
भर्चुअल रुपमा भएको उक्त कार्यक्रममा जापान स्थित टामुरा सिटीका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले ओलम्पियन सरस्वती संग नेपालको खेलकुद र ओलम्पिक अभियान सहित विभिन्न सांस्कृतिक पक्षबारे जानकारी लिएका थिए । सरस्वती जापानमा सम्पन्न ३२ औं ओलम्पिकमा नेपालबाट १०० मिटर दौडमा सहभागी खेलाडी समेत हुन् । उक्त कार्यक्रमको शुभारम्भ नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले गरेका थिए ।
नेपाल ओलम्पिक कमिटी र जापान स्थित एथलेटिक्स सोसाइटी टोकियोको संयुक्त पहलमा उक्त कार्यक्रम भएको नेपाल ओलम्पिक कमिटीका महासचिव श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए । नेपाल र जापानको टामुरा सिटी विचको सहयोगको आदान प्रदान कार्यक्रम अन्तर्गत भएको उक्त कार्यक्रम निकै सफल रहेको महासचिव श्रेष्ठको भनाई छ । उनले भने–“नेपाली खेलकुदको विकासका लागि जापानको सहयोग महत्वपूर्ण छ र यो कार्यक्रमले सम्वन्ध विकासलाई थप बलियो बनाएको छ ।”
सहयोग आदान प्रदान कार्यक्रम अन्तर्गत जापानको सामुरा सिटी र नेपालले विशेष गरी नेपाली खेलाडीहरुलाई नेपालमा समेत प्रशिक्षक पठाएर प्रशिक्षणमा विशेष सहयोग गरेको थियो भने सामुरा सिटीमा समेत प्रशिक्षणको व्यवस्था गरेको थियो । कार्यक्रममा जापानी चर्चित ओलम्पियन ताई तामासुको समेत उपस्थिती रहेको थियो ।
