
पोखरा स्पोर्टस । पोखरामा आइटिएफ वर्ल्ड र्याङकिङ् यू–१८ टेनिस टुर जे–५ सर्किट–२ सोमबार बाट सुरू हुने भएको छ ।
उक्त प्रतियोगिताको आयोजक संस्था कास्की जिल्ला टेनिस संघले एक पत्रकार भेटघाट कार्यक्रम गरी उक्त प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगिता अन्तर्गत सर्किट–१ शनिवार सम्पन्न भए लगतै सोमबारबाट सुरू हुने भएको सर्किट–२ मा नेपाल सहित ११ देशका गर्ल्स र ब्वाइज गरी ८८ खेलाडीको सहभागिता हुने आइटिएफ टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जानकारी दिएका छन् ।
पोखरा रंगशाला टेनिस कम्लेक्समा यहि मंसिर २० देखि २५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा वेल्जियमका २, व्राजिलका २, डेनमार्कका १, हङ्गेरीका १, स्विडेनका १, भारतका ४१, इजरायलका २, पोल्याण्डका १, रसियाका २, अमेरिकाका ६ र नेपालका २९ गर्ल्स र ब्वाइज खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत सिंग्लस र डव्लसमा खेलाडीहरुले स्पर्धा गर्नेछन् । विजेता खेलाडीले स्वर्ण र रजत पदक प्राप्त गर्नेछन् भने प्रत्येक खेल जिते पश्चात अन्तर्राष्ट्रिय टेनिस संघ (आइटिएफ) बाट र्याङकिङ् (अंक) प्राप्त गर्नेछन ।
सोमबार बाट शुरू हुने प्रतियोगिताका लागि आयोजकले ८८ जना खेलाडीबाट मेन–ड्र का लागि गर्ल्स र ब्वाइज गरी ३२–३२ जना खेलाडीको टुङ्गो लगाएको टुर्नामेन्ट डाइरेक्टर विष्टले बताए । शनिवार र आइतबार भएको छनोट खेलबाट गर्ल्सतर्फ नेपालका १६, भारतका १४ र बेल्जियमका २ जना खेलाडीले मेन–ड्रमा प्रतिष्पर्धा गर्नेछन् । ति मिध्ये क्वालिफाइङ राउण्डबाट ४ जना भारतिय खेलाडी छनोट भएका हुन् । छनोट खेलमा विभिन्न देशका १२ जनाले स्पर्धा गरेका थिए ।
त्यस्तै ब्वाइजतर्फ तर्फ नेपालका १४ जना, व्राजिलका २, डेनमार्कका १, हङ्गेरीका १, स्विडेनका १, इजरायलका १, पोल्याण्डका १, रसियाका १, अमेरिकाका १ जना र भारतका ९ समेत गरी ३२ खेलाडी स्पर्धा गर्दैछन । ब्वाइजतर्फ २० खेलाडीले क्वालिफाइङ राउण्ड खेलेका थिए । जसमा ४ जना भारतिय खेलाडी छनोट भएको विष्टले जानकारी दिए ।
कस्ता खेलाडीले प्रतिष्पर्धा गर्दैछन् ?
प्रतियोगितामा ब्वाइजतर्फ नेपाली यू–१८ जुनियर विश्व वरियता नं १ खेलाडी आराभ सम्राट हाडाले प्रतिष्पर्धा गर्दै छन् । उनको विश्व वरियतामा ८५७ अंक छ । त्यस्तै विश्वमा दोश्रो वरियातामा रहेकी नेपालकी अभिलाषा विष्टको सहभागिता रहेको छ । अभिलाषाको १३९१ अंक रहेको छ । गर्ल्स तर्फ नै विश्व वरियताकी नं १ खेलाडी वेल्जियमकी क्रेस्तेवा मिया समेत पोखरा आएकी छन् । गर्ल्सतर्फ नेपालकी विश्व तेश्रो वरियातामा रहेकी सलोनी तामाङ, चौथो वरियाताकी सर्भानी श्रेष्ठले समेत प्रतिष्पर्धा गर्दैछन् । प्रतियोगितामा ब्वाइज तर्फ ८ र गर्ल्सतर्फ ७ गरी विश्व वरियाताका १५ जना खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगिता आयोजक संस्थाका अध्यक्ष लोक बहादुर गुरूङले सबैलाई प्रतियोगिता सफल बनाउन आग्रह गर्दै भने–“यो प्रतियोगिता टेनिस खेलको उच्चतम तहको ग्राण्डस्लाममा पुग्ने बाटोको रुपमा रहेको हुनाले पनि प्रत्येक खेलाडीका लागि यस्ता प्रतियोगिता महत्वपूर्ण रहेको हुनाले सबैलाई सहयोग गर्न आग्रह गर्दछु ।”
कोभिड १९ को संक्रमणको अवस्था सहज भएको भए सहभागि देश र खेलाडीको संख्या अझै धेरै हुने आयोजक संस्थाका सचिव नविन श्रेष्ठले बताए । विश्व महामारीका रुपमा पुनः केही देशमा देखिएको ओमिक्रोनका कारण विभिन्न देशका १ सय ८० भन्दा वढी खेलाडीले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएको उनले जानकारी दिंदै भने–“पोखरालाई अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता आयोजनाका लागि हव बनाउने प्रयासमा हामी लागिरहेका छौं ।”
पोखरामा आयोजना भइरहेको यो प्रतियोगितालाई सफल बनाउन गण्डकी प्रदेश यूवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद परिषद गण्डकीले नजिकमा रहेर आयोजनालाई सहयोग गरिरहेको बताउँदै प्रदेश खेलकुदका सदस्य सचिव तेज बहादुर गुरुङले टेनिसलाई आम जनमानसमा पु¥याउनु पर्ने खाँचो औंल्याए । उनले पोखरामा सञ्चालन भइरहेको यो प्रतियोगिताको विद्यालयका विद्यार्थीहरु र यूवा खेलाडीले लाभ लिनुपर्ने कुरामा जोड दिए । उनले भने–“टेनिस खेल विकासका लागि समाजमा ‘टेनिस कल्चर’ स्थापित गर्न आवश्यक छ ।”
