
पोखरा स्पोर्टस । पोखरामा सोमबार देखि गर्ल्स/व्वाइज ‘आइटिएफ यू–१८ वर्ल्ड र्याकिङ टेनिस टुर’ ‘मेन ड्र’का खेल शुरु भएका छन् ।


उक्त प्रतियोगिताको गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले एक भव्य समारोहका विच टुर्नामेन्ट डाइरेक्टर अजय विष्टलाई टेनिस बल हस्तान्तरण गर्दै उद्घाटन गरे । सो अवसरमा मन्त्री गुरुङले पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता लाई मध्येनजर गर्दै यूवा खेलाडी उत्पादन गर्न निर्माण हुने मिनी टेनिस कोर्टका लागि ५ लाख र प्यारापिट निर्माणका लागि ३० लाख गरी ३५ लाख सहयोग गर्ने प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
गण्डकी प्रदेशमा नै टेनिस खेलको विकासका लागि कास्की टेनिस संघको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै मन्त्री गुरुङले भने–“अव हामी नवौं राष्ट्रिय खेलकुदको तयारीमा जुट्ने मात्रै होइन सबै खेलबाट पदक जित्न खेलाडी उत्पादनमा समेत उत्तिकै ध्यान दिनु छ ।” “टेनिस खेलबाट समेत हामी पदक जित्ने सँगै खेलाडीलाई हौसला प्रदान गर्न प्रदेश सरकार सहयोगका लागि तयार छ,” उनले भने ।
कार्यक्रममा पोखरा रंगशालामा टेनिस खेलाडी उत्पादन गर्न निर्माण हुन लागेको मिनि टेनिस कोर्ट निर्माणका लागि सहयोग गर्नेहरुलाई मन्त्री गुरुङले सम्मान समेत गरेका छन् । मिनी कोर्ट निर्माणका लागि लायन्स क्लव अफ पोखरा सेती गण्डकीले कास्की जिल्ला टेनिस संघलाई नगद १ लाख १ हजार १ सय ११ सहयोग गरेको छ भने समाजसेवी कृष्ण प्रसाद श्रेष्ठले नगद नगद १ लाख १ हजार १ सय ११ तथा प्रोफेसर धुर्व अधिकारीले नगद १ लाख सहयोग गरेका छन् ।
कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाल टेनिस संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ, कास्की जिल्ला टेनिस संघका सचिव नविन श्रेष्ठ लगायतले आफ्ना भनाई राख्दै वर्ल्ड ¥याकिङ टेनिस टुरले पोखरालाई खेलकुदको माध्यमबाट विश्वमा परिचित गराउन भूमिका खेलेको बताए । उद्घाटन कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, सदस्य सचिव तेज बहादुर गुरुङ, कास्की टेनिसका संरक्षक जर्ज जोन लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
अभिलाषा, प्रकृती र आद्याले सिंगल्सतर्फ जिते आफ्नो खेल
सोमबार बाट शुरु भएको वर्ल्ड र्याकिङ टेनिस टुर अन्तर्गत नेपाली गर्ल्सतर्फका खेलाडी अभिलाषा विष्ट, प्रकृती श्रेष्ठ र आद्या पौडेलले सिंगल्सतर्फका खेलमा जित हासिल गरेका छन् ।
नेपालकी नं १ र्याकिङ खेलाडी अभिलाषाले भारतकी मुर्नमायी जोशीलाई ६–०, ७–५ को सोझो सेटमा पराजित गरेकी छन् । त्यसै गरी प्रकृती श्रेष्ठले वेल्जियमकी मिया क्रिस्तेवालाई ६–२, ६–४ र आद्याले भारतकी मिली चगलाई ६–१, ६–० ले पराजित गरिन । त्यस्तै भारतकी भन्सिका मारियाले नेपाली खेलाडी रोमीका वुद्धाचार्यलाई ६–०, ६–० र भारतकी हेना नागपालले नेपालकी श्रेया भट्टराईलाई ६–२, ६–१ ले पराजित गरिन् ।
त्यस्तै वेल्जियमीकी सानान वोभीले नेपालकी प्रशंसा मोक्तानलाई ६–४, ६–० ले भारतकी सोर्मिता वर्माले नेपालकी इभा अधिकारीलाई ६–३, ६–२ ले, भारतकी नियतीले नेपालकी सुनिरा थापालाई ६–२, ६–४ ले र भारतकी मेहर मिश्राले नेपाली निमिशा ढकाललाई ६–१, ६–१ को सोझो सेटमा पराजित गरेका छन् ।
आज नै भएको सिंगल्समा व्वाइजतर्फको खेलमा अमेरिकी खेलाडी शिदार्थ लामाले भारतका कविर छावरियालाई ६–०, १–६ र ६–१ ले, स्विडेनका एमेलियोले नेपालका निहाल जङ्ग बहादुर थापालाई ६–२, ६–० ले भारतका धन्नञ्जयले नेपालका निशान श्रेष्ठलाई ६–३, ६–२ ले, इजरायलका हलेल आशुसले नेपालका आयूष्मान घलेलाई ६–०, ६–० ले, हङेरीका लोरेन्टले नेपालका एभियाक जोशीलाई ६–१, ६–० र भारतको ओमान्स चौधरीले नेपालका निश्चल कायस्थलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन् ।
त्यस्तै व्वाइज सिंगल्सतर्फ अमेरिकाका मिथर व्यारटले नेपालका अकी जुवेन रावतलाई ६–३, ६–० ले, डेनमार्कका अलेक्जण्डरले नेपालका प्रनव मानन्धरलाई ६–०, ६–० ले, भारतका वायटले नेपालका इशान गुरुङलाई ६–०, ६–१ ले, भारतका चन्दन शिवराजले नेपालका गिर्वाण जङ्ग थापालाई ६–०, ६–० ले भारतका दक्ष प्रसादले नेपालका प्रशिद्ध मोक्तानलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरेका छन् ।
आज नै भएको गर्ल्स डवल्सतर्फको खेलमा नेपाली खेलाडी इशा श्री शाह र श्रवानी श्रेष्ठको जोडीले वेल्जियमी मिया कृस्तेवा र नेपालकी सुनिरा थापालाई ६–२, ६–१ ले भारतका नियती कुक्रेती र सोहेनी सञ्जयले नेपाली जोडी प्रशंसा मोक्तान र आध्या पौडेललाई ६–०, ६–१ ले अमेरिकाकी समिक्षा एनम र रिसिथा रेड्डीको जोडीले नेपालकी निमिषा ढकाल र आयाषा डोल्कर लाई ६–३, ६–४ ले र भारतकी श्रीतान्वी दशारी र भन्सीका मेरियाले अमेरिकाकी कशिषकान्त र सौमरितालाई ६–४, ६–२ को सोझो सेटमा पाखा लगाएका छन् ।
तस्विरः सर्वाधिकार केशव पाठक/पोखरा स्पोर्टस
