
पोखरा स्पोर्टस । वाई वाई यु–१९, गण्डकी प्रदेश क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा शुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले स्याँग्जामाथि ३ विकेटको जित निकालेको छ । टस जितेर ब्याटिङ्ग गरेको स्याँँग्जाले ३८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३२ रन जोडेको थियो । स्याँँग्जाका विष्णु पाण्डेले ३० तथा सुजन गौतमले १९ रनको पारी खेले । कास्कीका बलरहरु अभिषेक थापा र किरण पौडेलले ३/३ विकेट लिए । त्यस्तै सुवास भण्डारीले २ तथा देव शाह र प्रमोद बाँस्तोलाले १/१ विकेट लिन सफल भए ।
जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको कास्कीले ३० ओभरमा ७ विकेट गुमाएर जित हासिल गर्यो । कास्कीको तर्फबाट म्यान अफ द म्याच अर्जुन कुमालले ७० बलमा ६९ रनको महत्वपूर्ण योगदान दिए । उनको पारीमा ११ चौका सामिल थियो । त्यस्तै सुवास भण्डारीले १५ रन जोडे । स्याँग्जाको वलिङ्गमा संदिप खत्रीले ३, करण पंगेनीले २ तथा टिकाराम गौतम र तुल्सीराम भण्डारीले १/१ विकेट लिए ।
यसअघि व्याटिङ्ग गरेर प्रतियोगिताको उद्घाटन गर्दै भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले नेपालले छोटो समयमै क्रिकेट खेलमा अन्र्तराष्ट्रिय सफलता हाँसिल गरेको भन्दै अन्य खेलको तुलनामा क्रिकेट खेलमा बढि सम्भावना देखिएको बताए ।
क्रिकेट विकासका लागि सरकारले भौतिक पूर्वाधारमा जोड दिनुपर्ने बताउँदै गण्डकी प्रदेश सरकारले पनि खेलकुदलाई प्राथमिकतामा राखेको जनाए । आफु पनि क्रिकेट प्रेमी भएको बताउँदै यो खेलको विकासका लागि सक्दो प्रयास गर्ने मन्त्री खड्काले बताए ।
उद्घाटन समारोहमा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङ्गले क्रिकेट खेलले अन्र्तराष्ट्रिय जगतमा राष्ट्रिय गरिमा बढाएको भन्दै यसको विकासका लागि पूर्वाधारमा जोड दिनुपर्ने बताए । खेलाडीहरुमा व्यवसायीकता नआइन्जेल खेलले गति लिन नसक्ने गुरुङ्गको भनाई थियो ।
क्षेत्रिय क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेन्सन प्रजुले छोटो तयारीमै यो प्रतियोगिता आयोजना गरिएको जनाउँदै सहभागी टिमहरुप्रति कृतज्ञता जाहेर गरे । जितसंगै खेलाडीहरुको व्यक्तिगत प्रदर्शन पनि महत्वपूर्ण हुने उनले जनाए ।
उद्घाटन कार्यक्रममा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल, नेपाल क्रिकेट संघका सदस्य ऋषिराम गौतम, क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी लगायतको सहभागिता रहेको थियो । राउण्ड रोविनको आधारमा छ दिन सम्म चल्ने प्रतियोगितामा कास्की, तनुहँ, नवलपुर र स्याँग्जा गरि चार टिमले भाग लिएका छन् ।
