
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटीले बिहीबार सातदोबाटोको ओलम्पिक भवनमा आयोजित विशेष कार्यक्रममा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलाई औपचारिक रूपमा स्वागत गरेको छ । त्यस अवसरमा सन् २०२२ मा चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालको सहभागिताबारे प्रारम्भिक छलफल भएको थियो ।



प्रतियोगिता आउने वर्ष सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुनेछ । छलफलमा नेपालको सम्भावित सहभागिता, त्यसको तयारी र समस्या तथा औचित्यमा केन्द्रित थियो । छलफल युवा तथा खेलकुद मन्त्री गहतराजको मुख्य आथित्यमा भएको थियो । त्यस अवसरमा मन्त्री गहतराजले खेलकुद संघलाई आफ्नो तयारी सुरु गर्न निर्देशन दिएका छन् ।
सो अवसरमा मन्त्री गहतराजले एशियाली खेलकुदका लागि आवश्यक बजेटको व्यवस्थाका लागि पहल हुने बताए । उनले नेपालको तयारी गुणात्मक रूपमा राम्रो हुनु पर्ने र पदक जितमा केन्द्रित हुनुपर्नेमा जोड समेत दिए । उनले भने, ‘नेपाली खेलकुदले पछिल्लो समय केही सफलता पनि प्राप्त गरको छ । त्यसको अर्थ हामीले अन्तर्राष्ट्रिय खेलकुदमा केही गर्न सक्छौं भन्ने नै हो ।’
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नयाँ खेलकुद ऐनपछि नेपाली खेलकुद नयाँ अध्यायमा प्रवेश गरेको बताउँदै देशको विकासका लागि सरकार, ओलम्पिक कमिटी र संघबीच समन्वयको आवश्यकता रहेको बताए । अध्यक्ष श्रेष्ठले भने, ‘एसियाली खेलकुदमा पदकका लागि ठोस तयारीको आवश्यकता पर्ने हुन्छ । यो एक दिनको तयारीले पुग्दैन । अबको एसियाली खेलकुदमा हामीले राम्रो प्रदर्शनका लागि अहिले बाट नै सुरुवात गर्नुपर्छ।’ उनले यसपटकको एसियाली खेलकुदमा नेपालको सहभागिता राम्रो प्रदर्शनका लागि हुनु पर्नेमा जोड समेत दिए ।
सो अवसरमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले नवनियुक्त मन्त्रीको स्वागत गर्दै उनको नेतृत्वमा नेपाली खेलकुद चलायमान हुने विश्वास व्यक्त गरे । ट्राइयाथलन संघका अध्यक्ष समेत रहेका श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक विजेता संघलाई दिने भनेर घोषणा भएको पुरस्कार राशी अहिलेसम्म प्राप्त नभएको बताउँदै ठूला प्रतियोगितामा राम्रो प्रदर्शनका लागि संघ तथा खेलाडीलाई प्रोत्साहित गर्नु पर्ने बताए ।
एसियाली खेलकुदको तयारीका लागि भएको प्रारम्भिक छलफलमा विभिन्न खेल संघका पदाधिकारी तथा पूर्व खेलाडीले आफ्नो खेलमा रहेको समस्या, बजेटको अभाव, भौतिक पूर्वाधार र खेल सामग्रीको अर्पाप्तताबारे भनाई राखेका थिए । भलिबल, रग्वी, गल्फ, एथलेटिक्स, इक्वेस्ट्रियन, कराँते, उसु, टेबल टेनिस, तेक्वान्दो, राफ्टिङ, क्यानोइङ, कुस्ती, पौडी, साइक्लिङ, जुडो, टेनिस, कपर्दी, फेन्सिङ, बक्सिङ, ट्राइयाथलन र ब्याडमिन्टन संघका प्रतिनिधिले आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा ओलम्पिक कमिटीको पदाधिकारी, यस अन्तर्गतका कमिसनका पदाधिकारी, विभिन्न खेल संघका पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो ।
