अन्तर्राष्ट्रिय बाल दिवसमा पोखरामा विद्यालय स्तरिय दौड हुने

पोखरा स्पोर्टस । अन्तर्राष्ट्रिय बाल दिवसमा पोखरामा विद्यालय स्तरिय १६ वर्ष उमेर समुहको छात्र/छात्रा दौड हुने भएको छ ।

जिल्ला खेलकुद विकास समिती कास्कीको आयोजना तथा प्रदेश खेलकुद परिषद गण्डकीको सहयोगमा उक्त दौड प्रतियोगिता आयोजना हुने भएको हो । सो बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा समितीका अध्यक्ष तोरण बहादुर बाँनियाले पोखराको पर्यटकिय स्थल खहरे चोकबाट शुरु हुने उक्त दौड प्याराग्लाइडिङ ल्याण्डिङ क्षेत्र खपौंदीमा पुगेर सम्पन्न हुने जानकारी दिएका छन् । उनले प्रतियोगिता सफल बनाउन सवै पक्ष सँग आग्रह गर्दै भने–“पोखरालाई दौडको शहरको रुपमा स्थापित गर्ने सँगै यूवा खेलाडीलाई खेलकुद प्रति आकर्षण गराउन यो कार्यक्रमले भूमिका खेल्ने अपेक्षा गरेका छौं ।”

विश्व महमारीको रुपमा फैलिएको कोभिड १९ ले थला परेको खेलकुद लाई उर्जा भर्ने तथा खेलाडीलाई हौसला बढाउन समेत कार्यक्रमले केही सहयोग पुग्ने बताउँदै आफ्ना धेरै भन्दा धेरै विद्यार्थीहरुलाई सहभागिता गराउन अध्यक्ष बाँनियाले आग्रह गरेका छन् । प्रतियोगितामा छात्र/छात्रा तर्फ प्रथम, द्वितिय, तृतिय र सान्त्वना स्वरुप नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । जस अनुसार प्रथम, द्वितिय, तृतिय र सान्त्वान हुने खेलाडीले समान नगद क्रमश १०, ७, ५ र २ हजार प्राप्त गर्नेछन् ।

कार्यक्रम सम्पन्न गर्न करिव १ लाख ५० हजार खर्च हुने र जस मध्ये प्रदेश खेलकुद परिषदले नगद ४५ हजार सहयोग गर्नेछ भने अन्य नपुग रकम विभिन्न संघ/संस्था तथा दाताहरुलाई लागि सहयोगका लागि जिल्ला खेलकुदले आग्रह गरेको छ ।

प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष महेन्द्र गुरुङको संयोजकत्वमा ७ सदस्यिय उपसमिती गठन गरेका छ । जसको प्रचार प्रसारमा भिम पराजुली, आर्थिक समितीमा केशव वहादुर थापा, स्वय सेवक तथा प्राविधिकमा राजन बडगामी, खाजा तथा खानामा तिलक बहादुर अधिकारी, अतिथी सत्कार नन्दकला नेपाली र मञ्च व्यवस्थापन नारायण भण्डारी रहेका छन् ।

पत्रकार सम्मेलनमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेज बहादुर गुरुङ, जिल्ला खेलकुदका उपाध्यक्ष महेन्द्र गुरुङ, सचिव भिम पराजुलीले प्रतियोगिताको विविध पक्ष बारे जानकारी दिएका थिए । कार्यक्रममा पोखरा महानगर खेलकुदका अध्यक्ष दिपक बहादुर गोदार, नेपाल एथ्लेटिक्स संघका केन्द्रिय सदस्य गज बहादुर गुरुङ, जिल्लाका अध्यक्ष हरि बरुवालको समेत सहभागिता रहेको थियो ।

फोटोः सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close