
पोखरा स्पोर्टस । मालदिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा उपविजेता वन्न सफल राष्ट्रिय फुटबल टोली सोमबार स्वदेश फर्किएको छ ।
साफ च्याम्पियनसिपको इतिहासमा पहिलो पटक उपविजेता बनेको टोलीलाई विमानस्थलमा यूवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले स्वागत गरेका छन् । उनले सो अवसरमा टोलीलाई स्वागत गर्दै सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए । उनले भने–“यहाँहरुले पहिलो पटक उपविजेता बनेर इतिहास रच्नु भएको छ । यहाँहरुलाई नेपाल सरकार र मन्त्रालयको तर्फबाट हार्दिक बधाई दिन चाहन्छु । यहाँहरुलाई सरकारको तर्फबाट कस्तो सहयोग गर्नुपर्छ त्यसका लागि यहाँहरु सँगै बसेर छलफल गर्नेछु ।”
साफ चयम्पियनसिपको फाइनलमा नेपाल भारत संग ३–० ले पराजित भएको थियो । विमानस्थलमा टोलीलाई स्वागत गर्न ठूलो संख्यामा समर्थक पुगेका थिए भने एन्फाका पदाधिकारीहरुले समेत टोलीलाई भव्य रुपमा स्वागत गरेका थिए ।
