
पोखरा स्पोर्टस । पोखरामा जारी राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगमा घरेलु टोली सविन मेमोरियल राउण्ड रोविन अन्तर्गतको अन्तिम खेल जित्दै अन्तिम चारमा स्थान पक्का गरेको छ ।


पोखरा वहुउद्धेश्यिय कभर्ड हलमा आजको खेल जित्नै पर्ने दवावमा मैदान उत्रिएको सविनले काठमाण्डौको शंखमुल फुटसल क्लवलाई ३–१ ले सनसनीपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । लिग अन्तर्गत नै अन्तिम चारमा स्थान बनाई सकेको शंखुमलका लागि खेल जित र हारमा खासै फरक नपरे पनि सविनको जितले भने फुटसल ५ धरान घर फिर्ता हुन वाध्य भएको छ ।
आजको खेलमा सविनले शंखमुल संग हार व्यहोरेको भए धरान ५ ले अन्तिम चारमा स्थान बनाउने थियो । आजकै खेलमा प्रभातफेरी यूथ क्लव संग ६–२ ले हार व्यर्होदा धरान सविन र शंखमुलको खेललाई पर्खिनु परेको थियो । तर घरेलु टोली सविन मेमोरियल लयमा फर्किदै तालिकामा तेश्रोमा स्थान बनाएको शंखमुललाई ३–१ ले पराजित गर्दा धरान घर फर्किन वाध्य भएको हो ।
मंगलवार लिग अन्तर्गतका खेल सकिए संगै अन्तिम चारमा पुग्ने टिमको समेत टुङ्गो लागेको छ । अंक तालिकामा सर्वाधिक २२ अंकका साथ घरेलु टोली स्पोर्टस क्यासल शिर्ष स्थानमा रहेको छ भने राइजिङ क्लव धरान १९ अंकका साथ दोश्रो, शंखमुल १८ अंकका साथ तेश्रो र सविन १४ अंकका साथ चौथो स्थानमा रहेको छ ।
बुधवार दिउसो १२ः४० मा फाइनल यात्राका लागि घरेलु टोली स्पोर्टस क्यासलले धरानको राइजिङ क्लव संग भिड्ने छ भने दोश्रो खेल घरेलु टोली सविन मेमोरियल र काठमाण्डौको शंखुमल फुटसल क्लव विच हुनेछ । लिग तालिकामा पहिलो र दोश्रो स्थान बनाएको टिम आफ्नो खेल पराजय व्यहोरे पनि अन्तिम मौका पाउने छ । लिग तालिकामा तेश्रो र चौथो स्थान बनाएको टिम मध्ये जुन टिमले जित्छ त्यो पहिलो खेलमा पराजय हुने टिम संग फाइनल यात्राका लागि खेल्नुपर्ने एन्फा फुटसल प्रमुख विनोद गुरुङले बताए ।

आजको खेलमा सविनका लागि २० औं मिनेटमा समिर प्रधानले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफ १–० ले अघि रहेको सविनले दोस्रो हाफमा थप २ गोल गर्दै जित हासिल गरेको हो । खेलको २४ औं मिनेटमा मनिष क्षेत्रीले गोल गर्दै अग्रता दोब्बर पारे । २५ औं मिनेटमा शंखमुलका सुशान श्रेष्ठले गोल गर्दै २–१ को स्थिति बनाएपछि सविन सविन दबाबमा परेको थियो । ३४ औ मिनेटमा सुनिल विकले गोल गर्दै जित निश्चित गरे ।
सविनको कुल ९ खेलबाट १६ अंकका साथ तालिकाको चौथो स्थानमा रहन सफल रह्यो । सविनले पाँच खेलमा जित, ३ खेलमा हार र १ खेलमा बराबरी खेलेको थियो । यता हार व्यहोरेको शंखमुल पनि तालिकाको तेस्रो स्थानमा रहेको छ । शंखमुललाई हारले दोस्रो स्थानमा उक्लिनबाट रोकेपनि प्लेअफका लागि कुनै असर गरेन । खेलको म्यान अफ दि म्याच मनिष क्षेत्री घोषित भए ।
मंगलबार भएको पहिलो खेलमा प्रभातफेरीले फुटसल ५ धरानलाई ६–२ गोल अन्तरले पाखा लगायो । प्रभातफेरीको जितमा डोना थापा र धिरज जोशीले २÷२ तथा शन्तलाल गुरुङ र विवेक सारुमगरले एक÷एक गोल गरे । प्रभातफेरीले फुटसल ५ धरानलाई सुरुवात देखि नै निकै दबाबमा राख्यो । प्रभातफेरीका लागि धिरज गुरुङले खेलको पाँचौ मिनेटमा २ गोल गर्दै अग्रता दिलाए । १ मिनेटको अन्तरालमा धिरजले २ गोल गर्दै प्रभातफेरीलाई २–० को अग्रता दिलाए । १७ औँ मिनेटमा शन्तले गोल गर्दै प्रभातफेरीको अग्रता तेब्बर पारे । २० औं मिनेटमा फुटसल ५ धरानका कप्तान सन्दिप कार्कीले गोल गर्दै अग्रता घटाए ।
पहिलो हाफमा ३–१ ले अघि रहेको प्रभातफेरीले दोस्रो हाफमा समेत ३ गोल गर्दै फराकिलो जित निकालेको हो । २५ औं मिनेटमा डोना थापाले गोल गरे । २६ औं मिनेटमा विवेकले गोल गर्दै अग्रता फराकिलो पारे । खेलको ३० औं मिनेटमा फुटसल ५ का लागि नयल श्रेष्ठले गोल गर्नुनै फुटसलका लागि अन्तिम गोल रह्यो । उता प्रभातफेरीका लागि डोनाले ४० औं मिनेटमा व्यक्तिगत तथा छैटौं गोल गरे । प्रभातफेरीका धिरजले २३ औं मिनेटमा रातो कार्ड पाउँदै बाहिरीएपनि फुटसल ५ धरानले त्यसको मौका भने उठाउन सकेन । २ मिनेटसम्म प्रभातफेरी ४ खेलाडीमा सिमित भएका थिए । खेलको म्यान अफ दि म्याच प्रभातफेरीका आशिष दङ्गाल घोषित भए ।
जितसंगै प्रभातफेरी कुल ९ खेलबाट १० अंकका साथ तालिकाको ८ औँ स्थानमा रहँदै लिगचरणबाट बाहिरीएको छ । प्रभातफेरीले ३ खेलमा जित, ५ खेलमा हार र १ खेल बराबरी खेलेको थियो । समान खेल खेलको फुटसल ५ धरानको भने १४ अंक रहेको छ । धरानले ४ खेलमा जित,३ खेलमा हार र १ खेल बराबरी खेलेको थियो ।
दोस्रो खेलमा ढुकु फुटसल हबले झरना स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले हरायो । जितसंगै ढुकुको ९ खेलबाट १३ अंक रहेपनि लिगचरणबाट बाहिरीएको छ । ढुकुले ४ खेलमा जित, ४ खेलमा हार र १ खेल बराबरी खेलको थियो । ढुकुको जितमा सुमन तामाङ, दावा दुक्पा शेर्पा, अमित लामा, प्रसिद्ध मगर र उर्केन शेर्पाले गोल गरे । झरनाका लागि गंगा गुरुङ, प्रवेश खनाल क्षेत्री र अमित गुरुङले गोल गरे । खेलको म्यान अफ दि म्याच अमित लामा घोषित भए ।
