पोखरा स्पोर्टस । पोखरामा असोज २१ गते २१ गते ५ किमि र १० किमी दौड हुने भएको छ ।
पोखरा महानगर खेलकुद विकास समितीको आयोजनामा उक्त प्रतियोगिता नेपालीहरुको पर्वहरुको अवसरमा गरिन लागिएको हो । प्रतियोगितामा १० किलोमिटर खुल्ला महिला तथा पुरुष र विद्यार्थीतर्फ ५ किलोमिटर छात्र/छात्रा दौड हुने छ ।
प्रतियोगितामा १० किमि महिला तथा पुरुषतर्फ प्रथम, द्वितिय र तृतिय हुने विजेता खेलाडीलाई समान नगद रु १५ हजार, १० हजार र ७ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ भने ५ किमि छात्र/छात्रातर्फ प्रथम, द्वितिय र तृतिय हुने विजेता खेलाडीलाई समान नगद रु १० हजार, ७ हजार र ५ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको दर्ता प्रक्रिया समेत शुरु भइसकेको र इच्छुक खेलाडीले पोखरा रंगशाला वा पोखरा महानगर खेलकुदको कार्यालय ड्यामसाइडमा दर्ता गर्न सकिने आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिता असोज २१ गते विहान ठिक ७ बजे शुरु हुने जनाइएको छ । महिला तथा पुरुष १० किमि पोखरा रंगशाला, पृथ्वीचोक, मुस्ताङ चोक, विरौटा चोक हुँदै ड्यामसाइड, राष्ट्रबैंक चोक, शहिद चोक, लेकसाईड, हल्लनचोक, जरेवर, जिरोकिमी, सिर्जना चोक, सभागृह चोक हुँदै रंगशाला पुगेर समापन हुनेछ ।
यसै गरी ५ किमि छात्र/छात्रातर्फ दौड पोखरा रंगशाला बाट शुरु भई पृथ्वीचोक, नागढुङ्गा, हरिचोक, जनप्रिय क्याम्पस, रत्न चोक हुँदै सिर्जना चोक, सभागृह चोक हुँदै पोखरा रंगशालामा पुगेर समापन हुनेछ ।
कोभिड १९ महामारीको दोश्रो लहर पछि सडक दौड आयोजना गर्न लागिएको बताउँदै पोखरा महानगर खेलकुद विकास समितीका सदस्य सचिव सुभाष खड्काले प्रतियोगिता सफल बनाउन सबै संग आग्रह गरेका छन् । प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की, कास्की जिल्ला एथलेटिक्स संघ, नेपाल भुतपूर्व खेलाडी मञ्च, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्की लगायत अन्य संघ संस्थाको समन्वयमा हुने सदस्य सचिव खड्काले पोखरा स्पोर्टसलाई बताए ।
