गण्डकी विश्वविद्यालयमा उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम, असोज १७ गते बाट पढाई शुरु हुँदै

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकार द्वारा गठन गरिएको गण्डकी विश्वविद्यालयले आफ्नो स्थापनाको ठिक दुई वर्ष पछि अध्ययन अध्यापन शुरु गर्ने भएको छ ।

नेपालमा नै पहिलो पटक खेलकुद विषयमा स्नातक तह ‘व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (विएसएम) र व्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (विआइटी) विषयमा अध्ययन शुरु गर्न लागेको गण्डकी विश्वविद्यालयले पहिलो पटक विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीहरुलाई उत्प्रेरणा र अभिमुखीकरण कार्यक्रम दिएको हो ।

पोखरामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी पहिलो शत्रमा भर्ना भएका आफ्ना विद्यार्थीहरुलाई उत्प्रेरणा र अभिमुखीकरण गरेको हो । सो कार्यक्रमको उद्घाटन गर्दै विश्वविद्यालयका न्यासिक परिषदका अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले विद्यार्थीहरुलाई उज्वल भविष्यको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जान सक्ने गरी जनशक्ती उत्पादन हुने बताए । उनले भने–“नेपालको इतिहासमानै पहिलो पटक विश्वविद्यालयमा यति ठूलो आकर्षण हुनु हामी सवैको लागि गौरवको विषय हो” उनले थपे–“गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान दिंदै कुन–कुन मोडलमा अध्ययन गराउन सकिन्छ त्यस बारे विश्वविद्यालय गम्भिर भएर अगाडी बढ्नेछ ।”

यति बेला गण्डकी विश्वविद्यालयको सिको सवै प्रदेशहरुले गर्न चाहेको धारणा अघि सार्दै योजना आयोगका पूर्व सदस्य समेत रहेका डा. देवकोटाले विश्वविद्यालयको गठन भएको मोडल नै फरक भएकोले पनि विद्यार्थीहरुको भविष्य उज्जवल रहेको बताए । “हामी ठिक बाटोमा अघि वढेकोले नै अरुले सिको गर्न चाहेका हुन,” उनले भने–“प्रदेश सरकारले विश्वविद्यालय मार्फत प्रदेशलाई शिक्षाको हव मात्रै बनाउन खोजेन त्यसलाई गठन गरेर यहाँ सम्म ल्याएको छ त्यो नै ठूलो उपलव्धी हो । हामी यसलाई कसरी वेष्ट मोडलमा अगाडी बढाउने भन्ने बारे चुनौती पनि छ ।” ‘नोलेज’, ‘एटिच्यूड’ र ‘इन्डिभिजुअल विहेभियर’मा परिवर्तन गर्न सके शिक्षाको माध्यमबाट मुलुकलाई नै परिवर्तन गर्न सकिने बताउँदै यसका लागि गण्डकी प्रदेश सरकार संग अझै छलफल गरेर अघि बढ्ने बताए ।

कार्यक्रममा आफ्ना धारणा राख्दै गण्डकी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले विश्वविद्यालय स्थापनाको शुरुवातमा नै स्नातक तहमा खेलकुद व्यवस्थापनको अध्ययन शुरु हुनु खुसीको विषय रहेको बताउँदै उनले प्रदेशमा खेलकुद पर्यटनको सम्भावना रहेकोले पनि यो विषयमा दक्ष जनशक्ती उत्पादन हुने विश्वास व्यक्त गरे । उनले सर्टिफिकेटको भन्दा पनि व्यवसायिक जनशक्तीको निकै खाँचो रहेको कुरा औंल्याउँदै रोजगार र व्यवसायीक प्रवर्द्धनमुखी जनशक्ती उत्पादन हुने शिक्षा आवश्यक रहेको उल्लेख गरे । उनले एक अर्को प्रसङ्गमा प्रदेश सरकारले लामो छलफल पछि शिक्षा निती तयार गरेको समेत बताए ।

कार्यक्रममा शुभकामना व्यक्त गर्दै गण्डकी प्रदेश निती तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्लेले प्रदेशको विशिष्टितालाई आत्साथ गर्दै प्रदेशको समृद्धीका लागि विश्वविद्यालयले आफ्ना योजनाहरु अघि बढाउने बताए । यति वेला ज्ञानको क्षेत्रमा निकै प्रतिष्पर्धा रहेको धारणा अघि सार्दै विश्वमा भइरहेको परिवर्तनलाई विद्यार्थीहरुले आत्मसाथ गर्न सके त्यसले प्रदेशको समृद्धीको लक्ष्य र गन्तव्य पहिल्याउन सहज हुने उनले बताए । उनले भने–“गण्डकी प्रदेश सभ्भावनाले भरिएको प्रदेश हो आफ्नो सकरात्मक सोच र उर्जालाई खर्च गर्ने हो भने जिवनको मार्ग मात्रै नभई मुलुक र प्रदेशको समृद्धी शिखरमा पुग्नेछ ।”

गण्डकी विश्वविद्यालयका कुलपती प्रा.डा. गणेशमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विश्वविद्यालयका उपकुलपती प्रा.डा. नवराज देवकोटाले दक्ष जनशक्ती मार्फत प्रदेशमा मात्रै नभई अन्तर्राष्ट्रिय जगतमा नै प्रतिष्पर्धी र सक्षम जनशक्ती उत्पादन गर्ने लक्ष्य विश्वविद्यालयको रहेको बताए । उपकुलपती देवकोटाले हालका लागि दुई वटा विषयमा अध्ययन शुरु गरिए पनि अव विश्वविद्यालयले बिफर्माको चाँडै नै अध्ययन अध्यापन शुरु गरिने जानकारी दिए । उनले विश्वविद्यालयले यूरोप तथा अमेरिकाका ख्याती प्राप्त विश्वविद्यालयहरु संग सम्झौता गरी विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको अध्ययन अध्यापनमा जोडिने बताए ।

कार्यक्रममा विश्वविद्यालयका न्यासिक परिषदका सदस्य निर्मल गुरुङले समेत आफ्ना भनाई राख्दै यतिवेला शिक्षालाई रोजगार संग जोड्न सके विदेश पलायन हुने धेरै विद्यार्थीहरुलाई रोक्न सकिने बताए ।

सो अवसरमा विश्वविद्यालयका डिन डा. कपिल अधिकारीले विश्वविद्यालयले आफ्नो पाठ्यक्रमलाई नयाँ ज्ञानको क्षेत्र संग जोडिने बताए । अहिलेको विश्व र समाजले चाहे अनुरुपको फरक शैक्षिक पद्धतीमा अध्ययन अध्यापन गरिने उल्लेख गर्दै भने–“वदलिंदो परिवेश भित्र रहेका चुनौतीहरुका विच सम्भवनाहरुको खोजी गर्दै विश्वको नागरिक उत्पादन गर्ने विश्वविद्यालयको उद्धेश्य हो ।”

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.कैलाश तिमिल्सिनाले विश्वविद्यालयको आजको दिन सम्म ल्याउन सहयोग गर्नेहरु प्रति आभार प्रकट गरे ।

गण्डकी विश्वविद्यालयमा स्नातक तह ‘व्याचलर्स इन स्पोर्टस म्यानेजमेन्ट’ (विएसएम) विषयमा १६ जना, व्याचलर्स इन इन्फरमेशन टेक्नोलोजी (विआइटी) विषयमा ३१ जना र विफर्मामा २० जना गरी ६७ जना विद्यार्थी अध्ययन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close