
पोखरा स्पोर्टस । नवलपुर गैंडाकोट नगर पालिका स्थित सुनवर्षा खेल मैदान यति बेला नेपालकै हक्कीको केन्द्र बन्ने पर्खाइमा छ ।
नेपालमा अन्तर्राष्ट्रियस्तरको हक्की खेलको पूर्वाधार निर्माणका लागि लामो समय देखि जग्गाको खोजी भइरहँदा अन्ततः गैडाकोटको सुनवर्षा खेल मैदान निश्चित भएको हो । गैडाकोट नगर पालिकाले हक्कीको अन्तर्राष्ट्रिय पूर्वाधार निर्माण हुने भए पछि सुन वर्षा खेल मैदानले ओगटेको करिव साढे ३ विघा जग्गा खेलकुदलाई दिएको हो ।
गैंडाकोट नगर पालिका वडा नं १३ नारायणी नदीको किनारमा अवस्थित सुनवर्षा खेल मैदान निकै रमणिय छ । नारायणीको वहाव संगै मदेशको चर्को घाममा समेत केही शितलता पाइने उक्त मैदान गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि समेत तयार हुने जानकारी आफूले पाएको बताउँछन नवलपुर जिल्ला खेलकुदका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठ ।

जग्गा प्राप्ती संगै पूवाृधार निर्माणका लागि जिल्ला खेलकुदले सम्पूर्ण कागजातहरु राष्ट्रिय खेलकुद परिषदमा पठाएको बताउँदै कार्यालय प्रमुख श्रेष्ठले सुन वर्षा खेल मैदान हक्कीका लागि निकै सुगम ठाउँ रहेको बताए । “यो ठाउँ निकै सुगम छ, मित्रराष्ट्र भारतका खेलाडी आउन–जान समेत नभई गैडाकोट नेपालकै मध्य भागमा पर्ने भएकोले नेपालको जुन सुकै ठाउँबाट आउन पनि निकै सहज छ”, प्रमुख श्रेष्ठले भने–“आवश्यक कागजहरु हामीले पठाइसकेका छौं, अव निर्माण प्रक्रिया शुरु भए नवौंमा हक्की खेल गैंडाकोटमा हुनेछ ।”

नेपालमा हक्कीको अन्तर्राष्ट्रिस्तरको पूर्वाधार निर्माण गर्न करिव रु ६ करोड बरावरको एष्ट्रोटफ दिने घोषणा एशियन हक्की फेडेरेशनले यस अघि नै गरीसकेको नेपाल हक्की संघका अध्यक्ष उमेशलाल श्रेष्ठले जनाएका छन् । उनले भने–“एष्ट्रोटफ समेत राख्नका लागि हामीले उपयूक्त जग्गा पाएका थिएनौ । अहिले बल्ल हामीले सोचे जस्तै ठाउँ पाएका छौं । अव कुनै पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता गर्न सहज हुनेछ भने मित्र राष्ट्र भारत र पाकिस्तान समेतलाई नेपालमा बोलाएर प्रतियोगिता गर्न सक्छौं ।” उनले स्टेडियम निर्माणका लागि पहल गर्ने राखेप र जग्गा उपलव्ध गराउने गैडाकोट नगरपालिकालाई आभार व्यक्त गरेका छन ।

यता राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले हक्कीको पूर्वाधार तयार गर्न राखेप प्रतिवद्ध रहेको बताए । उनले भने–“गण्डकी प्रदेशमा एक अर्को अन्तर्राष्ट्रियस्तरको पूर्वाधार थपिनु खुसीको कुरा हो, हामी नवौं राष्ट्रिय खेलकुदको तयारीका लागि पनि हक्कीको पूर्वाधार वन्न आवश्यक छ ।” उनले यस बारे राखेप सदस्य सचिव लगायत गण्डकी प्रदेशका मुख्यमन्त्री संग कुरा गर्ने बताउँदै सुनवर्षा खेल मैदान अव हक्कीको अन्तर्राष्ट्रिय स्टेडियमको रुपमा चिनिने बताए ।
