साग पदक विजेता कराँतेकी अनु रसिया जाने

पोखरा स्पोर्टस । मित्र राष्ट्र रसियाको मस्को सहरमा आयोजना हुने र्‍याङ्किङ्ग प्रतियोगिता समेत रहेको कराते १ प्रिमियर लिगमा १३ औं साग स्वर्णधारी अनु अधिकारीले सहभागिता जनाउने भएकी छन् ।

प्रतिस्पर्धा गर्न जान लागेकी साग स्वर्णधारी अनु अधिकारीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले सोमबार एक कार्यक्रमविच राष्ट्रिय झण्डा सहित खादा लगाएर बिदाई गरे । सो क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको पनि खेलाडी अनुलाई बिदाई गरे ।

खेलाडीलाई शुभकामना दिंदै सदस्य सचिव सिलवालले यस प्रतियोगिताले नेपाली खेलाडीहरुको स्तर मापन गर्ने र नेपाललाई बिश्व खेल मञ्चमा परिचय गराउने भन्दै स्तरिय खेल प्रदर्शन गर्न र प्रतियोगिताबाट नयाँ खेल कौशलता सिकेर आउन सुझाव दिए ।

बिश्वका बिश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीहरुको सहभागिता रहने र्‍याङ्किङ्ग प्रतियोगितामा अनुले ५५ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । प्रत्येक तौल समूहमा बिश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रशिक्षक दीपक श्रेष्ठले बताए ।

खेलाडी अनुको हाल बिश्व कराते र्‍याङ्किङ्गमा १६३ औं स्थान रहेको छ । यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडीहरु ओलम्पिकका लागि स्वतः छनौट हुने खेलाडी अनुले जानकारी गराईन् । यो लिग आउदो ओलम्पिकका लागि सुरुवाती चरण भएको समेत अधिकारीले बताईन् ।

प्रत्येक तौल समूहमा बिश्वका ६४ जना मात्र खेलाडीहरुले सहभागिता जनाउन पाउने यस बिश्व र्‍याङ्किङ्ग प्रतियोगितामा सहभागिता हुनका लागि कराते महासंघले आयोजना गर्ने विभिन्न सिरिज प्रतियोगिताहरुमा सहभागिता र जितका आधारमा र्‍याङ्किङ्गका लागि प्राप्त अंकका आधारमा उच्च ५० भित्र परेका खेलाडीहरुले स्वतः छनोट चरण पार गर्नेछन् र बाँकी १४ जना २०० र्‍याङ्किङ्ग भित्र परेका खेलाडीहरुले लिगका लागि दर्ता खुलेको अवस्थामा फस्र्ट कम फस्र्टका आधारमा जति सक्दो चाँडो नाम दर्ता गर्न सकेमा मात्र सहभागिता जनाउन पाउने प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराएका छन् ।

अन्य समयमा १५० भित्रका खेलाडीहरुले मात्र सहभागिताका लागि नाम दर्ता गर्न पाउने भएता पनि यस पटक कोभिडका कारण सिरिजहरु नभएका कारण २०० भित्रका खेलाडीहरुले नाम दर्ता गर्न पाउने प्रावधान करोत महासंघले गरेकाले अनु यस लिगका लागि छनोट हुन सफल भएको समेत प्रशिक्षक श्रेष्ठले जानकारी गराए । अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close