गण्डकी प्रदेशको वहुप्रतिक्षित गैंडाकोटको विपी अन्तर्राष्ट्रिय खेलग्राम, ४ सय ५० विघा जमिन, नारायणीको किनार, दोश्रो मेलम्ची बन्ने त्रास !

पोखरा स्पोर्टस । गण्डकी प्रदेश सरकारले नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकामा विपी अन्तर्राष्ट्रिय खेलग्रामको वहुप्रतिक्षित योजना अघि सारेको छ ।

गैंडकोट नगरपालिका वडा नं २ मा रहेको नारायणी नदीको किनारमा गैंडाकोट नगर पालिकाले छुट्टाएको उक्त जग्गा नेपालको खेलकुद इतिहासमा खेलकुदका लागि अहिले सम्म छुट्टाइएको धेरै जग्गा हो । करिव ४ सय ५० विघा भन्दा वढी जग्गा नगर पालिकाले स्थानिय सरकार गठन लगतै छुट्टाएको बताउँछन नगर पालिका प्रमुख छत्रराज पौडेल । जग्गा छुट्टाए संगै नगर पालिकाले करिव १८ लाख खर्च गरेर विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरेको छ ।

नेपालको भौगोलिक नक्सा अनुसार मध्य नेपालमा पर्ने गैंडाकोट नगर पालिका यातयात र प्राकृतिक कारणले पनि उत्तिकै महत्वपूर्ण छ । महेन्द्र राजपथ भन्दा साढे २ किलोमिटर दक्षिणमा रहेको विपी अन्तर्राष्ट्रिय खेलग्राम निर्माणका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले समेत उत्तिकै महत्व दिएका छन । प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि सरकारले तिन करोड बजेट डिपिआरका लागि विनियोजन गरेको छ । प्रदेश सरकारले चालु आवमा खेलकुदका लागि छुट्टाएको सवैभन्दा ठूलो रकम हो । यो रकम सोझै मुख्यमन्त्री कार्यालय बाट खर्च गर्नेगरी विनियोजन भएकोले पनि सरकारले यसलाई प्राथमिकतामा राखेको वुझ्न सकिन्छ ।

खेलकुदका लागि जग्गा उपलव्ध गराउनु भन्दा पनि यो ठाउँको संरक्षण र नारायणी नदि कटानबाट जोगाउनु पहिलो प्राथमिकता रहेको बताउँछन नगर प्रमुख पौडेल । उनी भन्छन–“यसको विकास गर्ने हो भने प्राथमिकताको विषय नै नदी नियन्त्रण हो ।” नारायणी नदी धेरै नदीहरुको समागम भएकोले पनि प्राकृतिक विपत्तीका लागि जुन सुकै समयका लागि तयार भएर बस्नुपर्ने भएकोले पनि नदी नियन्त्रणलाई नगर पालिकाले पहिलो प्राथमिकता दिएको उनको भनाई थियो ।

प्रमुख पौडेलका अनुसार यसलाई खेलकुद लगायत पर्यटकिय दृष्टिकोणले समेत उत्तिकै महत्व रहेको हुनाले यो ठाउँमा उद्यानहरुको विकास समेत गर्न सकिने उनको भनार्ई छ । उनले भने–“हामीले गर्न सक्ने जति गरि सक्यौं, डिपिआर तयार गरेका छौं, प्रदेश र संघिय सरकारलाई यस बारे भनिरहेका छौं, जग्गा प्रदान गरेका छौं, अव पालो प्रदेश र संघिय सरकारको ।”

राष्ट्रिय खेलकुद परिषद (राखेप) बाट गण्डकी प्रदेशको जिम्मेवारी सम्हालेका राखेप सदस्य राजेश कुमार गुरुङ पहिलो पटक यति धेरै जग्गा खेलकुदलाई छुट्टाएको देख्दा अचम्भित बन्दै भन्छन–“आजकल खाली ठाउँ देख्नै हुन्न विभिन्न राजनितीका नाउँमा सुकुम्वासी वसाल्ने काम हुन्छ, तर गैडाकोट नगर पालिकाले निकै सर्हानिय काम गरेको छ ।” उनले गैडाकोट नगर पालिकाका प्रमुख, उप–प्रमुख तथा वडा अध्यक्ष प्रति आभार व्यक्त गर्दै भने–“यो ठाउँको संरक्षण आवश्यक छ ।”

राखेप सदस्य गुरुङले समेत विपि अन्तर्राष्ट्रिय खेल ग्रामलाई नदी कटान बाट जोगाउनु पर्ने बताउँछन । “यसको विकास थोरै रकमले सम्भव छैन यसको विकासका लागि ठूलो लगानी आवश्यक छ भावी पुस्ता संगै नेपाली खेलकुदको विकासमा विपी अन्तर्राष्ट्रिय खेलग्राम महत्वपूर्ण छ यस बारे गम्भिर भएर सोच्न म प्रदेश र संघिय सरकारलाई आग्रह गर्छु ।” राखेप सदस्य गुरुङले उक्त ठाउँलाई संरक्षण गर्दै खेलकुद र पर्यटकिय गन्तव्यको रुपमा विकास गर्नुपर्ने औंल्याए । “यो ठाउँको कहाँ कसरी कुन कुन खेलका लागि कसरी निर्माण गर्ने भन्ने बारे प्रदेश सरकार अघि बढ्नु पर्ने हुन्छ”, उनले भने ।

गण्डकी प्रदेश सरकारले पोखरा ३३ पशुपतीघाटमा निर्माण गर्ने भनेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला डिपिआर तयार भए पनि यतिबेला सरकारको दराजमा फायल थन्किएको छ भने मुस्ताङमा निर्माणका लागि हाइ अल्टिच्युड खेल मैदान जग्गा प्राप्ती भइ सक्दा समेत कुनै काम हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close