बागलुङमा गण्डकी प्रदेश स्तरीय आईटिएफ तेक्वान्दो प्रतियोगिता सुरु, खेलकुद मन्त्री गुरुङले गरे उद्घाटन

पोखरा स्पोर्टस । नेपाल आईटिएफले बागलुङमा प्रदेशस्तरीय तेकवान्दो प्रतियोगिता सुरु गरेको छ ।

शुक्रबारदेखि बागलुङको ढोरपाटन नगरपालिका बोबाङमा सुरु भएको प्रतिश्पर्धा शनिबारसम्म चल्ने छ । प्रतियोगितामा गण्डकीका ६ जिल्ला सहभागि छन् । प्रतियोगिताको उद्घाटन गर्दै गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले खेलको विकासका लागि सरकार निरन्तर लागिरहेको बताए । ‘पहिले छुट्टै मन्त्रालय पनि थिएन । अहिले खेलकुद हेर्ने मन्त्रालय छुट्टै छ । हाम्रो अधिकतम प्रयास खेलकुदको विकासमै छ,’ उनले भने, ‘युवाहरुलाई खेल र रोजगारीसँग जोड्नुपर्छ । युवा बेरोजगार हुनु भनेको देश दुर्घटनामा फस्नु जस्तै हो ।’ उनले ग्रामिण क्षेत्रमा खेल मैदानहरु निर्माण गर्ने र स्वरोजगारका कार्यक्रम सन्चालन गर्ने प्रतिबद्धता दोहो¥याए ।

गण्डकी खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङले देशले नै खेल क्षेत्रलाई महत्व नदिएका कारण समस्या भोग्नुपरेको बताए । ‘हाम्रो जस्तो देशमा खेलकुदलाई महत्व दिएको छैन । गण्डकीमा पनि धेरै अप्ठ्यारा परिस्थितिहरु छन् । खेल खेल्यो भने के हुन्छ भन्ने ज्ञान अभिभावकलाई छैन,’ उनी भन्छन्, ‘पूर्वाधार र खेल सामग्रीको अभाव छ । यहि अभावबाट पनि व्यवस्थापन गर्दै अघि बढ्नुपर्ने छ । गण्डकीले केही सुरुवात गरेको छ ।’

खेलाडी दुर्घटना भए त्यसको उपचार निशुल्क गर्ने व्यवस्था मिलाईएको उनले बताए । ‘कुनैपनि अन्तराष्ट्रिय खेल खेलेका खेलाडीलाई सत प्रतिशत निशुल्क उपचार हुन्छ । राष्ट्रिय खेल खेलेकालाई ५० प्रतिशत छुट गरेका छौं,’ उनले भने, ‘यो सुरुवात मात्रै हो । खेलाडीका लागि सुखद पक्ष हो । उनका अनुसार सरकारले गाउँघरमा भएका विद्यालयको खेल मैदानलाई स्तरोन्नती गर्न लागेको छ । ‘सरकारी विद्यालयमा जग्गा भए सेभेन ए साईडको फुटवल खेल्ने मैदान बनाउन लागिरहेका छौं । सूचना निस्किसकेको छ,’ गुरुङले थपे, ‘युवा स्वरोजगारका लागि पनि खेलाडीले उद्यम गर्न चाहान्छ भने प्याकेज ल्याएका छौं ।’

निसीखोला र तमानखोला गाउँपालिकाका अध्यक्षहरुले ग्रामिण पूर्वाधारमा साथ दिन आग्रह गरे । बागलुङबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भएपनि त्यस अनुसार पूर्वाधार नभएको उनीहरुको गुनासो छ । आईटीएफका गण्डकी अध्यक्ष घमबहादुर थापाले सबैखाले एकताको श्रोत खेलकुद भएपनि खेल क्षेत्रमा राज्यको नजर नपुगेको बताए । ‘विश्वभर विभाजन छ विभिन्न नाममा । तर खेल क्षेत्र मात्रै यस्तो हो, जहाँ एकता मात्रै हुन्छ,’ उनले भने, ‘हामी एकताका लागि मेहिनत गरिरहेका छौं । धेरै युवाहरु कुलतमा फसिरहनुभएको छ । उनीहरुलाई खेल क्षेत्रमा जोड्न सके समाज राम्रो बन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close