
पोखरा स्पोर्टस । खेलकुद र सामाजिक कृयाकलापमा छुट्टै पहिचन बनाउन सफल बगर भाई खलक पोखराको युके स्थित भगिनी संस्था बगर भाई खलक युकेको अध्यक्षमा दिलरास गुरुङ निर्विरोध निर्वाचित भएका छन ।
संस्थाको शनिवार युकेमा सम्पन्न दोश्रो अधिवेशनले खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल व्यक्तित्व दिलरासलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । यसै गरी संस्थाको उपाध्यक्षमा सामाजिक र व्यवसायिक क्षेत्रमा अग्रणी व्यक्तित्व कमल गुरुङ ‘धम्पुस’ निर्वाचित भएका छन भने महासचिवमा अर्जुन गुरुङ र कोषाध्यक्षमा भानु गुरुङ (थकाली)लाई निर्वाचित गरेको छ । तर अधिवेशनले अन्य कार्यसमिती सदस्यहरु भने चयन गरेको छैन । आवश्यक परेको बेला सवैले सहयोगी हातहरु समान ढङ्गले अघि बढाउने संगै संस्थाको कृयाकलापमा समेत साधारण सदस्यहरुको सहभागिता रहोस भन्ने हेतुले पदाधिकारीहरुको मात्रै चयन गरिएको जनाइएको छ ।
दोश्रो अधिवेशन बगर भाई खलक युकेका संस्थापक अध्यक्ष चन्द्रमान गुरुङ (सिएम)को अध्यक्षतामा भएको थियो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष समेत रहेका चन्द्रमान (सिएम)लाई नवनिर्वाचित समितीले सफल कार्यकालको भूमिकाको लागि बधाई तथा धन्यवाद दिंदै नेपालमा फर्किएर उहाँले आफ्नो सफल जिवनको लागि शुभकामना समेत व्यक्त गरेको छ ।
संस्थाको अध्यक्ष पदमा नवनिर्वाचित अध्यक्ष दिलरासले आफूलाई अध्यक्ष पद जस्तो गहन जिम्मेवारी प्रदान गरेकोमा सवैलाई धन्यवाद दिएका छन । उनले आगामी कार्यकाल सफल बनाउन सवैको सहयोगको समेत अपेक्षा गरे ।
कार्यक्रममा युके स्थित नेपालीहरुको वृहत संस्था तमु धिं युकेका अध्यक्ष हितकाजी गुरुङ, सहारा युकेका अध्यक्ष कुमार गुरुङ लगायतले बगर भाई खलकले खेलकुद र सामाजिक क्षेत्रमा बनाएको पहिचानका लागि आफ्नो संस्थाको तर्फबाट सदैव सहयोग रहिरहने धारणा राखे ।
बगर भाई खलक युकेमा ९० जना भन्दा वढी साधारण सदस्य रहेका छन । संस्थाले पोखरामा हुँदै आएको भेट्रान एट ए साइड फुटबल प्रतियोगिता लगायत अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।
