
पोखरा स्पोर्टस । नेपाल खेलकुद महासंघले १३ औ दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ ।




१३ औ सागमा साइक्लिङ प्रतियोगितामा रजत पदक विजेता जमुना थापा, नेपाली राष्ट्रिय भलिबल टिमकी उपकप्तान तथा सागमा रजत पदक विजेता मञ्जु गुरुङ, मुआथाई बक्सिङकी सुष्मि श्रेष्ठ, फुटबल प्रशिक्षक राजेन्द्र तामाङ र कराँते प्रशिक्षक शुभाष खड्कालाई महासंघले शनिबार सम्मान गरेको हो ।
सम्मानित हुनेहरुलाई संघिय सरकारका पूर्व युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सुनार, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेश सभा सदस्य राजिव पहारी, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ र राष्ट्रिय खेलकुद परिषदका् सदस्य सम्पन्न श्रेष्ठले संयुक्तरुपमा अविर, खादा र सम्मापनपत्र सहित सम्मान गरेका थिए ।
सो अवसरमा बोल्दै पूर्व युवा तथा खेलकुद मन्त्री विश्वकर्माले नेपाली खेलकुदको विकासको जग वलियो बनाउन खेलकुद विकास ऐन लागु गर्नु पर्नेमा जोड दिएका छन । लामो समय पछि खेलकुदको सार्वजनिक कार्यक्रममा सहभागि भएका कास्की क्षेत्र नं ३ का सांसद समेत रहेका उनले भने–“हामीले नेपाली खेलकुदको जग बलियो होस भन्नका लागि नै कानुन ल्यायौं तर त्यसको कार्यान्वयन हुन सकेको छैन भने अर्को तर्फ नियमावली समेत समयमा बन्न नसक्दा खेलकुद विकासको गति पछि परेको खेलकुदले गुणात्मक रुपमा फड्को मार्न सकेन ।”
खेलकुद ऐन नेपाली खेलाडीको भविष्य संग जोडिएको विषय रहेको उल्लेख गर्दै पूर्व मन्त्री विश्वकर्माले खेलकुद ऐनलाई प्रभावकारी बनाउन खेलकुद क्षेत्र सजग भएर अघि बढनुपर्ने बताउँदै भने–“खेल क्षेत्रको र खेलकुद वुझेको व्क्तित्वहरु राष्ट्रिय खेलकुद परिषदको वोर्डमा हुनुहुन्छ तर दुर्भाग्य यति लामो समय भइसक्दा पनि एउटा पनि वोर्ड वैठक बस्न नसक्नु दुःखद छ ।” खेलकुद मुलुकको प्रतिष्ठा संग गाँसिएको विषय रहेको बताउँदै पूर्व मन्त्री विश्वकर्माले केपी ओली नेतृत्वको सरकारको दुढ संकल्पका कारण नै ८ औं राष्ट्रिय खेलकुद र १३ औं साग छोटो समयमा नै सम्पन्न हुन सकेको बताए ।
नेपालको समग्र खेलकुद विकासका लागि पूर्व सरकारले सात प्रदेशमा अन्तर्राष्ट्रिय रंगशालाको निर्माण र ग्रामिण क्षेत्रमा नमुना खेल ग्रामको नितीका साथ अघि बढे पनि वर्तमान सरकारले त्यसलाई अगाडी नवढाएकोमा चासो व्यक्त गर्दै आफ्नो पालामा नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान सहित आजिवन भत्ताको व्यवस्थाका लागि जग बसालेको भए पनि त्यसको गलत प्रचारवाजी गरेकोमा पूर्व मन्त्री विश्वकर्माले आक्रोश व्यक्त गरे । उनले नेपाली खेलकुदको जग वलियो बनाउन अग्रज खेलाडीहरुले बगाएको रगत र पसिनाको मुल्यको पनि कदर गर्न सक्नुपर्ने उल्लेख गर्दै भने–“नेपली अग्रज खेलाडीहरुले खेलकुद विकासका लागि रगत र पसिना बगाएर खेलकुद स्थापित गर्न ठूलो भुमिका खेलेका छन उनीहरुको सम्मान आवश्यक छ ।”
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले एमाले सत्तामा आएपछि मात्रै खेलकुदको विकास भएको दावी गरे । उनले नेपालको खेलकुद पूर्वाधार विकासमा एमालेको सरकारले गरेका विकासका खेलकुदका पूर्वाधार निर्माणले पुष्टि गरेको बताउँदै एमाले बलियो भयो भने मात्रै खेल क्षेत्रको विकास हुने जिकिर गरे । खेलकुद विकासका धेरै आयामहरु रहेको उल्लेख गर्दै अध्यक्ष पौडेलले खेलकुदमा लगानी आवश्यक रहने कुरामा जोड दिंदै भने–“हामी धेरै खर्च गरेर ठूला–ठूला अस्पताल निर्माण गर्छौ तर आम जनमानसमा खेलकुदको महत्व वारे वुझाउन सकेका छैनौ ।”
अध्यक्ष पौडेलले खेलकुदलाई उद्योगको रुपमा वुझ्न आवश्यक रहेको धारणा अघि सार्दै खेलाडी र प्रशिक्षकको उच्च मनोवल बढाउन भत्ता ५ हजार पुर्याउनु पर्ने कुरामा जोड दिए । उनले यस बारे खेलकुद परिषद लगायत सम्वद्ध संस्थाहरु संग सुझावहरु संकलन गरिरहेको बताउँदै यदि त्यसो नभएमा खेलकुद महासंघ संघर्षका माध्यमबाट पनि त्यसलाई स्थापित गरि छाड्ने उद्घोष गरे ।
सो अवसरमा वोल्दै गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले खेलकुदमा सुशासन अपरिहार्य रहने कुरामा जोड दिए । उनले खेलकुद विकासका लागि चुनौतीहरु रहे पनि दृढ अठोट रह्यो भने त्यो सम्भव हुने बताउँदै प्रदेशको खेलकुद विकासका लागि महासंघ संग सहकार्य गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारी, नेकपा एमाले कास्कीका सचिव दामोदर वैरागी, खेलकुद महासंघका महासचिव मेघराज पौडेल, उपमहासचिव शान्तामायाँ परियार, कास्कीका सहइन्चार्ज हरि वरुवाल, उपाध्यक्ष उत्तम गुरुङ, सचिब शिब पौडेल लगायतले खेलकुद विकासको गति दिन खेलकुद महासंघमा युवाहरुलाई समाहित हुन आह्वान गरेका थिए ।
कार्यक्रम खेलकुद महासंघ कास्कीका अध्यक्ष तथा पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदारको अध्यक्षतामा भएको थियो । सपथ ग्रहण कार्यक्रममा अध्यक्ष गोदार सहित कार्यसमितीका १ सय ३३ जनाले सपथ लिएका थिए ।
