
पोखरा स्पोर्टस । प्रथम एसियाली खेलकुद खेलकुद १९५१ (नयाँदिल्ली) नेपालका प्रथम अन्तराष्ट्रिय धावक तथा नेपाली सेनाका पहिलो पुस्ताका खेलाडी स्व. गजराज जोशीको प्रतिमा अनावरण गरिएको छ ।

नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा नेपाल ओलम्पिक कमिटिको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवम् सासद जिवनराम श्रेष्ठले प्रतिमा अनावरण गरेका हुन । कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, उपाध्यक्षद्वय चतुरानन्द राज वैद्य, ज्योती राणा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले गजराज जोशीका विभिन्न आयमहरुका बारेमा धारणा राखेका थिए ।
एनओसीका अध्यक्ष श्रेष्ठले स्व. जोशीलाई आफुले एक खेलाडीको रुपमा मात्र स्मरण गरेकोमा आज आएर उनका बारेमा विविध जानकारी हासिल गर्न पाएको बताए । उनले आउदो पिढीको लागि स्व.जोशीको योगदानबाट प्रेरणा मिल्ने बताए ।
ओलम्पिक संग्राहलयमा खेल क्षेत्रलाई विकास गर्न योगदान गर्ने खेल कर्मी र विभिन्न खेलाडीहरुको प्रतिमा स्थापना गर्ने लक्ष रहेता पनि स्व. गजराज जोशीको खेलकुद लगायत विभिन्न क्षेत्रमा गरिएको योगदानको कदर गर्दै उनको प्रतिमा स्थापना गरिएको नेपाल ओलम्पिक संग्राहलयका अध्यक्ष क्षितिज अरुण श्रेष्ठले बताए ।
को हुन जोशी ?
जोशी नेपाली खेलकुदको इतिहासमा अन्तर्राष्ट्रिय सहभागिता जनाउने क्रममा पहिलो पुस्ताका खेलाडीमा पर्दछन । नेपाली खेलकुदमा उनले पुर्याएको अतुलनीय योगदानका लागि नेपाल खेलकुद पत्रकार मञ्चले ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ समेत प्रदान गरिसकेको छ । सन् १९५१ मा भारतको नयाँ दिल्लीमा भएको पहिलो एसियाली खेलकुदमा उनले सहभागिता जनाएका थिए ।
सैनिक जवान अवस्थामा नेपालको प्रतिनिधित्व गरी दक्षिण एसियाली खेलकुदमा सहभागी टिमका एक सदस्यमा समेत रहेका थिए । उनले दौड स्पर्धामा सहभागीता जनाएका थिए । उनले महावीर र एनआटीबाट फुटबल समेत खेलेका थिए । जोशीका खेल व्यक्तित्व मात्र नभएर त्यसका धेरै फरक फरक आयाम पनि रहेका छन् ।
उनको जन्म वि.सं १९७९ सालको गाईजात्राका दिनमा टोखामा भएको थियो । युवा अवस्थामा उनी इन्डियन ब्रिटिस आर्मीमा भर्ती भएका थिए र दोस्रो विश्वयुद्धमा वर्मामा सहभागी समेत भए । दोस्रो विश्वयुद्धको समाप्तीमा नेपाल फर्केर नेपाल आर्मीमा भर्ती भए । काठमाडौँको चक्रपथ निर्माणको जिम्मेवारी सेनालाई दिंदा उनी निर्माण अभियानको टोलीको सदस्यका रुपमा सहभागि रहेका थिए । उनको २०६६ फागुन १६ मा निधन भएको थियो ।

