
केशव पाठक/पोखरा स्पोर्टस । नेपालमा हाप्किडो खेललाई शिक्षा, रोजगार तथा उत्पादन संग जोड्ने अभियानमा लागेको नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगरले बताएका छन् ।
साउथ एशियन हाप्किडो फेडेरेशनका अध्यक्ष समेत रहेका मगरले खेलकुद मार्फत सुसंस्कृत समाज संगै मुलुकको समृद्धिको निर्माणको अभियानमा अघि बढेकोले नै हाप्किडो खेलले छोटो समयमा नै प्रगतीको मार्गमा अघि बढेको उनको भनाई छ । “हामीले हाप्किडोलाई खेलको रुपमा विकास गरेका मात्रै छैनौ, संग–संगै खेलाडीको भविष्यलाई शिक्षा र रोजगार संग जोडेका छौं,” पोखरा स्पोर्टस संगको सम्वादमा उनले भने–“राष्ट्रिय गौरव बढाउन खेलको विकास हुनु एउटा पाटो हो, तर हाप्किडो संस्कारयूक्त खेलाडी उत्पादन हुुनुपर्छ भन्ने मान्यताका साथ अघि बढेकोले पनि छोटो समय यसको विकास तिव्र गतीमा अघि बढेको हो ।”
सात प्रदेश र ६० जिल्लामा हाप्किडो संघको विस्तार गरी ३५/३६ हजार खेलाडी उत्पादन गरिसकेको बताउँदै अध्यक्ष मगरले हाप्किडो खेल संगै शिक्षालाई उच्च प्राथमिकतामा राखेको बताए । “हाप्किडोका हरेक खेलाडी खेल संगै शिक्षा अनिवार्य रुपमा संगै लैजानु पर्छ भन्ने अभियानलाई हामीले जोडेका छौं” उनले थपे–“खेलाडीको जिवनमा शिक्षाको महत्वका वारेमा हामीले हरेक अभिभावकलाई समेत सचेत गराउँछौं भने अनुशासनको महत्वका वारेमा खेलाडीको जिवनमा कस्तो महत्व राख्छ भन्ने कुरालाई पनि स्थापित गरेका छौं ।” “खेलाडीलाई मेडलिष्ट बनाउने मात्रै नभई पहिलो कुरा शिक्षा र जागरण हो । यूवाहरुको मनोभावना वुझेर नै हाम्रा कार्यक्रमहरु तय गरेका छौं जसबाट योग्य र सक्षम खेलाडी उत्पादन होस भन्ने हाम्रो सोच हो ।”
हाप्किडो खेलको विकास शहर केन्द्रित भन्दा पनि ग्रामिणमुखी अभियानका रुपमा अघि बढाइएको बताउँदै उनले गरिव तथा विपन्न वर्गका युवाहरु हाप्किडो खेलमा आवद्ध रहेको बताए । हाप्किडो खेलमा आवद्ध खेलाडी लाई निशुल्क प्रशिक्षण संगै उनीहरुको शिक्षामा कुनै वाधा नपुगोस भन्नका लागि संघले सहयोग समेत गर्दै आइरहेको उनले बताए । हाप्किडो संघले वार्षिक रुपमा ४/५ वटा राष्ट्रियस्तरका प्रतियोगिताहरु आयोजना गर्दै आइरहेकोमा कोभिड १९ को महामारीका कारण प्रतियोगिता संगै प्रशिक्षण अभियानका कार्यक्रमहरुले गति लिन नसकेको अध्यक्ष मगरले बताए । उनले भने–“हामी व्यवासायिक खेलाडी मात्रै उत्पादन गर्ने अभियानमा मात्रै होइन हाप्किडो मार्फत मुलुकको विकास र समृद्धीको अभियानलाई समेत संग–संगै अगाडी बढाएका छौं ।”
यहि वर्षको पुष १३ देखि १६ गते दाङमा र फागुनमा पोखरामा पाँचौ र छैटौं राष्ट्रिय प्रतियोगिताको तयारी गरिरहेको बताउँदै उनले प्रदेश र जिल्ला स्तरिय प्रतियोगिता तथा प्रशिक्षक र खेलाडीहरुलाई छुट्टा–छुट्टै सेमीनारहरु समेत आयोजनाका लागि मितीहरु तय गरिए पनि कोभिड महामारीका कारण कार्यक्रमहरु अघि बढ्न नसकेको उल्लेख गरे । उनले भने–“हाप्किडोले यो वर्ष भित्र नेपालमा एक लाख खेलाडी उत्पादन गर्ने लक्ष्य लिएका छौं, तर कोभिडका कारण हाम्रा कार्यक्रमहरुमा केही व्रेक लागेको छ, तर हामी अन्तरिक रुपमा सबै तयारी गरिरहेका छौं ।” नेपालमा विभिन्न उमेर समुहका एक लाख खेलाडी उत्पादन गर्दै सन २०२२ सम्ममा नेपालमा हाप्किडोको अन्तर्राष्ट्रिय च्याम्पियनशिप आयोजना गर्ने योजनामा समेत रहेको उनको भनाई थियो ।
आत्मरक्षाका लागि विशिष्ट मानिएको कोरियन मार्शल आर्टस हाप्किडो खेललाई ओलम्पिकमा समावेश गर्न अन्तर्राष्ट्रिय रुपमा नै छलफल भइरहेको बताउँदै उनले दक्षिण एशियाली खेलकुद (साग) र राष्ट्रिय प्रतियोगितामा समेत हाप्किडोलाई अगाडी बढाउन आफ्नो तर्फबाट पहल अघि बढाएको समेत बताए । “सवैलै खेल बाट सम्भावना देख्छन, हामी विश्वभरी रहेका हाप्किडो संघहरुलाई एकजुट बनाउँदै अघि वढ्नु पर्छ भन्ने सोच वर्ल्ड फेडेरेशनमा अघि बढेको छ भने सागमा समावेश गर्न मैले पहल गरेको छु,” उनले भने ।
