छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप पोखरामा हुने, दुई हजार खेलाडी पोखरा आउँदै

पोखरा स्पोर्टस । नेपाल मार्शल आर्ट्स हाप्किडो संघले देशै भरिका दुई हजार खेलाडीलाई पोखरामा उर्ताने भएको छ ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, गण्डकी प्रदेशको आयोजनामा फागुनको दोश्रो साता हुने “छैटौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप २०७८” मा देशै भरिका दुई हजार खेलाडी पोखरा आउने भएका हुन । फागुन १३ देखि १६ गते सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगितामा फाइट तर्फ महिला र पुरुष दुवै तर्फ १० तौल समूहमा प्रतिस्पर्धा हुने नेपाल मार्शल आर्ट्स हाप्किडो संघ, गण्डकी प्रदेशकी उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषदकी कार्यकारी सदस्य तारा माया थापा मगरले जानकारी दिएकी छन । प्रतियोगितामा २०–२५, २५–३०, ३०–३५, ३५–४०, ४०–४५, ४५–५०, ५०–५५, ५५–६०, ६०–६५, र ६५–७० गरी १० तौल समूहमा प्रतिस्पर्धा हुने ।

पोखरामा शुक्रबार आयोजित पत्रकार भेटघाटमा प्रतियोगिताको प्रत्येक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीहरूलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कारको व्यवस्था गरिएको संघले जनाएको छ । यस्तै, सेल्फ डिफेन्स, डेमोन्स्ट्रेसन, हाई फल र लङ फलमा पनि प्रतिस्पर्धा हुने कार्यक्रमकी संयोजक समेत रहेकी मगरले बताइन ।

खेलाडीलाई आवाश तथा सम्पूर्ण सुविधाहरु निशुल्क गरिएको संघका केन्द्रिय अध्यक्ष काली बहादुर घर्ती मगरले जनाएका छन । करिव एक करोड खर्च अनुमान गरिएको उक्त प्रतियोगितामा नेपाली हाप्किडोका खेलाडीलाई फेरी सक्रिय बनाउन प्रतियोगिता महत्वपूर्ण साबित हुने विश्वास रहेको साउथ एशिया हाप्किडो फेडेरेशनका अध्यक्ष समेत रहेका मगरले बताए । उनले भने–“नेपालमा पछिल्लो समयमा कोरोना महामारीले संघको गतिविधिलाई प्रभावित बनायो,” उनले भने–“खेलाडीको स्तर वृद्धि गर्दै यसबाट पार पाउन र सक्रिय हुन हामीले यो प्रतियोगिता आयोजनाको तयारी गरेका छौ,  प्रतियोगिता सफल बनाउन हामी पोखरेली सबैलाई आह्वान गर्दछौ ।”

कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले पछिल्लो समयमा हाप्किडो खेलको विकासले विकास भएको भन्दै प्रशंसा गरे । उनले हाप्किडो खेललाई नवौं राष्ट्रिय खेलकुदमा समेत समावेश गराउन आफ्नो तर्फबाट पहल गर्ने बताउँदै प्रशिक्षणका लागि पोखरा रंगशालामा समेत स्थान उपलव्ध गराउन आफू प्रतिवद्ध रहेको बताए ।

सो अवसरमा संघका गण्डकी प्रदेशका अध्यक्ष एम.वी आस्थाले प्रतियोगिताले पोखराको आन्तरिक तथा वाह्य पर्यटनमा सहयोग पुग्ने भएकोले प्रतियोगिता सफल बनाउन सबैको सहयोगका लागि आह्वान गरे । उनले भने–“पर्यटकीय नगर पोखरामा आयोजना हुने प्रतियोगिताले यहाँको आन्तरिक र वाह्य पर्यटन विकासमा पनि टेवा पुग्ने मात्रै नभई नेपाली हाप्किडो खेलको विकासमा समेत सहयोग पुग्ने विश्वास लिएका छौ ।”

संघले खेलकुद मार्फत युवाहरूलाई सकारात्मक सोच, शैक्षिक जागरण, अनुशासन, स्वस्थ, खेल प्रति समर्पित, योग्य, सक्षम, सबल र सफल युवा खेलाडी बनाउन अघि बढेको जनाइएको छ । हाप्किडो खेललाई राष्ट्रिय गौरव सँग जोड्दै प्रतियोगिता र सेमिनारको आयोजना गर्दै आइरहेको जनाउँदै युवाहरूको शारीरिक र मानसिक विकास गर्नमा यो प्रतियोगिता सहयोगी हुने भन्ने विश्वास लिएको छ  ।  हाप्किडोको केन्द्रीय संघले खेललाई नेपालको ग्रामीण क्षेत्रमा बिस्तार गर्दै व्यापक बनाउन प्रयास गर्दै आएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close