पोखरा आएको दुई दिन पछि राष्ट्रिय फुटबल टोली पोखरा रंगशालामा

पोखरा स्पोर्टस । बन्द प्रशिक्षणका लागि पोखरा आएको राष्ट्रिय फुटबल टोली दुई दिन पछि पोखरा रंगशाला प्रवेश गरेको छ ।

दुई दिन सम्म मर्निङ वाक र होटलमा नै प्रशिक्षण गरिरहेको टोली बिहिबार मात्रै पोखरा रंगशाला प्रवेश गरेको हो । टिमका प्रशिक्षक अब्दुल्हा अलमुताइरी राष्ट्रिय खेलकुद परिषद द्वारा गठित छानविन समितीले बयानका लागि बोलाएका कारण  काठमाडौं छन ।

साँझ ४ बजे पोखरा रंगशाला आएको टोलीलाई भने प्रेस बाट टाढा नै राखिएको छ । पहिलो दिनका लागि प्रशिक्षणका लागि मैदानमा आएको टोलीको फोटो र भिडियो खिच्न पत्रकारले माग गरे पनि टिमको सह–व्यवस्थापकका रुपमा रहेका कृष्ण भक्त मानन्धरले एन्फाको नयाँ नियम भन्दै फोटो खिच्न नपाइने बताएका थिए । उनले आफूले एन्फा संग यस बारे बुझेर पत्रकारलाई सहज वातावरण बनाउने बताए ।

यता काठमाडौमा नै रहेका टिमका व्यवस्थापक मधुसुदन उपाध्यायले एन्फाले साताको एक पटक मात्रै फोटो र भिडियो खिच्ने नियम बनाएको जिकिर गरे । “काठमाडौमा समेत यहि नियम हो, हामी पोखरामा पनि त्यही नियम लागु गर्छौं,” उनले भने–“म पोखरा आए पछि सवै वातावरण मिलाउँछु ।”

करिव २० दिनको बन्द प्रशिक्षणका लागि पोखरा आएको टोली बाट दक्षिण एशियाली फुटबल महासंघले आयोजना गर्ने दक्षिण एशियाकै सर्वोच्च फुटबल प्रतियोगिता साफ च्याम्पियनशिपका लागि अन्तिम खेलाडीको छनोट पनि पोखरा बाटै गर्ने तयारी भइरहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ । एसियन कपका लागि समेत खेलाडीको छनोट पोखरा बाटै गरिने एन्फाले जनाएको छ ।

मुख्य प्रशिक्षक अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन । टोलीमा किरणकुमार लिम्बु, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, अर्पण कार्की, विशाल सुनार, रजिन धिमाल, सुमन अर्याल, रन्दीप पौडेल, दिनेश राजवंशी, गौतम श्रेष्ठ, राजिव लोप्चन, अनन्त तामाङ, रोहित चन्द, सुरज ठकुरी, सुमन लामा, कमल थापा मगर, नितिन थापा, तेज तामाङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सन्जोक राई, विक्रम लामा, सुजल श्रेष्ठ, त्रिदेव गुरुङ, सुनिल बल, मनिष डाँगी, अन्जन विष्ट, आयुष घलान, नवयुग श्रेष्ठ, आशिष लामा, भरत खवास, अभिषेक रिजाल, सेसेहाङ् आङ्देम्बे, शिशिर लेखी रहेका छन ।

बन्द प्रशिक्षण्का लागि पोखरा आएको टोलीले पोखरा रंगशाला, सहारा एकेडेमीको खेल मैदान र बिजयपुर ब्यारेकको मैदानमा प्रशिक्षण गर्नेछ ।
फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close