
पोखरा स्पोर्टस । कोभिड १९ का कारण लामो समय देखि थलिएको खेलकुदमा केही साता यता केही कार्यक्रमहरु हुन थालेका छन ।


प्रशिक्षण लगायत खेलकुद गतिविधी ठप्प रहे पनि विभिन्न दिवसको अवसरमा केही न केही गतिविधी हुन थालेका हुन । यसै सन्दर्भमा ६३ औं अन्तर्राष्ट्रिय मित्रता दिवशको अवसर पारेर शनिवार पोखरा रंगशाला सरसफाई गरिएको छ । विशेष गरी खेलाडीलाई रंगशाला सम्म ल्याउन र उनीहरुलाई आफ्नो खेलको निरन्तरता दिन पनि यस्ता कार्यक्रम सहयोगी हुने बताउँछन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङ ।
राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिती कास्की र पोखरा महानगर खेलकुद विकास समितिले संयूक्त रुपमा आयोजना गरेको कार्यक्रमका बारे आफ्ना धारणा राख्दै राखेप सदस्य गुरुङले सवैका विच भाइचार, मित्रता र एक आपसको सल्लाहमा नै खेलकुद अघि बढ्ने बताए । उनले भने–“हामीले खेलकुदमा लिन आएको होइन दिन आएको हो । सबै खेलकुदका संस्थाहरु मिलेर ग–र्यौ भने पक्कै पनि खेलकुदको विकास सम्भव छ ।”
यस्तै धारणा राख्छन प्रदेश खेलकुद परिषदका सदस्य सचिब तेज बहादुर गुरुङ, उनी भन्छन–“यस्ता दिवसले खेलाडीमा भाइचाराको सम्वन्ध स्थापित गर्न सहयोग पुग्ने मात्रै नभै आफ्नो खेलकुद परिसर आफैले सफा राख्नु पर्छ भन्ने भावना जगाउँछ ।” कोभिड १९ का कारण ठप्प रहेको खेलकुद गतिविधीलाई अघि बढाउन परिषदले केही कार्यक्रमहरु अघि सारेको बताउँदै उनले अव प्रदेशमा विभिन्न खेलका प्रशिक्षकहरु उत्पादन गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताए ।
यता जिल्ला खेलकुद विकास समिती कास्कीका अध्यक्ष तोरण बहादुर बानियाँले पोखरा रंगशालामा संधै भरी हरियाली बनाइराख्न र खेलाडीमा समेत आफ्नो व्यक्तिगत अनुसासनका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले भने–“हामी यो कार्यक्रमलाई निरन्तरता दिने छौ, आफ्नो रंगशाला हामी आफै स्वच्छ, सफा र हराभरा राख्छौं भन्ने सन्देश सबैलाई दिन्छौं ।” उनले यस्तो सरसफाईको कार्यक्रम प्रत्येक महिना गरिने समेत बताए ।
पोखरा महानगर खेलकुद विकास समितीका अध्यक्ष दिपक बहादुर गोदारले यस्ता कार्यक्रमले राम्रो सन्देश दिने भएकोले नै कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले भने–“खेलाडी नभए सम्म खेलकुद अघि बढ्न सक्दैन, हामीले खेलाडीलाई पहिलो प्राथमिकता दिनु पर्छ अनि खेलाडीलाई एक आपसमा भाइचारको सम्वन्ध विकास गर्न पनि यस्ता कार्यक्रम आवश्यक छ ।”
यसै विच लायन्स क्लव अफ पोखरा पिस चौतारीले विभिन्न फलफूलका विरुवाहरु रोपेको छ । लायन्स चौतारीले रंगशालामा विभिन्न ४० प्रकारका फलफुलका विरुवा रोपेको अध्यक्ष वानियाँले जानकारी दिए ।
