
पोखरा स्पोर्टस । नेपालको ‘ए’ डिभिजनको क्लव मनाङ मर्स्याङदी (एमएमसी) करिव–करिव पोखरा आउने तय भएको छ ।
पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिती पोखराले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई एमएमसीलाई होम ग्राउण्डका रुपमा अघि बढाउन सिफारिस गरेको हो । क्षेत्रिय खेलकुद संग सोझै सम्झौता गर्न आएको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र एमएमसी पदाधिकारीको टोलीलाई क्षेत्रिय खेलकुदले सम्झौता नगरी सिफारिस मात्रै गरेको छ । विद्यमान खेलकुद ऐनको परिवर्तित सन्दर्भलाई ध्यानमा राख्दै एमएमसीलाई पोखरा फुटबल रंगशाला होम ग्राउण्डका रुपमा अघि बढाउने गरी राखेपलाई सिफारिस गरेको छ ।
क्षेत्रिय खेलकुदले राखेपलाई कस्तो खालको सिफारिस गर्यो भन्ने खुलाइएको भने छैन । खेलकुद ऐन अनुसार क्षेत्रिय खेलकुद अस्तित्वमा नरहेको बखत कसरी क्षेत्रिय खेलकुदले सिफारिस गर्न सक्छ भन्ने प्रश्न समेत उव्जिएको छ । राखेपले प्रदेशको खेलकुद विकासका लागि परिषद गण्डकी र सो अन्तर्गत गठन भएको जिल्ला खेलकुद विकास समितीलाई किन पाखा लगाएर सिफारिस गर्यो भन्ने प्रश्न समेत खडा भएको छ । सिफारस गरिएको पत्रमा को कसले हस्ताक्षर गरे भन्ने समेत खुलाइएको छैन । सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पाले पोखरा स्पोर्टस संग कुरा गर्दै सिफारिस भएको बताए । उनले भने–“पोखराबाट सबै कुरा भइ सक्यो अव राखेपमा सदस्य सचिवज्यू जापान बाट फर्किए पछि सम्झौता हुन्छ ।”
एमएमसी संगको सिफारिसका लागि राखेप सदस्य राजेश गुरुङ, एन्फा अध्यक्ष शेर्पा, एमएमसीका पदाधिकारीहरु, क्षेत्रिय खेलकुदका कर्मचारीहरुका विच हिजो देखि भएको छलफल आज टुङ्गोमा पुगेको थियो । राखेपका सदस्य सचिव यतिबेला जापानको राजधानी टोकियोमा जारी ओलम्पिक खेलकमा सेभ द मिसनका रुपमा गएकोले उनी स्वदेश फर्किएपछि मात्रै सम्झौता हुने जनाइएको छ । सम्झौता पछि पोखरा फुटबल स्टेडियम सञ्चालन गरे वापत केही रकम एमएमसीले राखेपलाई बुझाउने छ ।
एन्फा अध्यक्ष शेर्पाले एमएमसीले पोखराको रोजाईले यस क्षेत्रको फुटबल विकासका लागि महत्वपुर्ण हुने बताएका छन । उनले लिग अन्तर्गत होम एण्ड अवेको आधारमा पोखरामा करिव १७/१८ वटा लिगहरु सञ्चालन हुन सक्ने जनाए । एमएमसी सम्झौता पछि पोखरामा निरन्तर १९ वर्ष देखि सञ्चालन हुँदै आएको आहा रारा फुटबल लगायतका पोखरा रंगशालामा सञ्चालन हुने स्थानिय प्रतियोगिताहरुका वारेमा राखेपले सम्झौता गर्दा आवश्यक ध्यान दिनुपर्ने पोखरेली फुटबल प्रेमीहरुले ध्यानकर्षण हुनुपर्ने बताए । उनीहरुले भने–“एमएमसी आउनु पोखरेलीहरुका लागि गौरवको कुरा हो तर सम्झौता गर्दा स्थानिय प्रतियोगिताहरुका बारेमा समेत राखेप र एन्फाले ध्यान पुर्याउन आवश्यक छ ।”
