हाप्किडो खेलाडीलाई खेल पोशाक प्रदान गर्दै मन्त्री गुरुङले भने–“यूवालाई स्वरोजगारको माध्यमबाट खेलकुदमा आकर्षण गर्न चाहन्छौ”

पोखरा स्पोर्टस । गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ ‘दिपक मनाङे’ले हाप्किडो खेलाडीलाई खेल पोशाक प्रदान गरेका छन ।

गत वैशाखमा सम्पन्न मार्शल आर्ट हाप्किडो नेसनल च्यम्पियनसिपमा गण्डकी प्रदेशबाट बिजेता खेलाडीलाई हौसला स्वरुप खेल पोशाक (ट्रयाक शुट) तथा प्रमाणपत्र वितरण गर्दै उक्त कुरा बताएका हुन । खेलाडीलाई स्वरोजगार तर्फ आकषर्ण गर्दै जिविकोपार्जन गर्ने वातावरण तयार नर्गदा सम्म खेलकुदको विकास सम्भव नहुने मन्त्री गुरुङले बताए । उनले जोड दिंदै भने–“हामीले त्यही कुरालाई गम्भिरतापूर्वक अध्ययन गर्दै यूवा लक्षित २६ वटा योजना अघि सारेका छौं ।”

वर्तमान प्रदेश सरकारको मन्त्रिपरिषदमा खेलकुद बुझेको र माया गर्ने कोही पनि नभएको जिकिर गर्दै मन्त्री गुरुङले भने–“खेलकुद भन्ने वित्तिकै सानो मन्त्रालय भनेर सोच्दा रहेछन, कोही पनि आउन नचाहने, तर म यो मन्त्रालय गृह वा अन्य मन्त्रालय भन्दा पनि सक्रिय र ठूलो मन्त्रालयका रुपमा अघि बढाउँछु ।” आर्थिक वर्ष २०७८–०७९ को वजेटमा आफूले अघि सारेका धेरै योजनाहरु काटिएको उल्लेख गर्दै मन्त्री गुरुङले भने–“वजेटका कारण हाम्रा खेलकुदका योजना तथा पूर्वाद्धार निर्माणका काम रोकिने छैनन, हामी संघिय सरकार मार्फत भए पनि अघि सारेका योजनाहरु पुरा गर्नेतर्फ अगाडी बढनेछौं ।” उनले आफूले पोखरा रंगशालामा अघि सारेको योजना मध्येको मार्शल आर्ट कम्प्लेक्सलाई पुरा गर्न आफूले प्रयास गर्ने प्रतिवद्धता समेत जनाए ।

मन्त्री गुरुङले खेलकुदलाई शिक्षा र कृषी संग समेत जोड्नु पर्ने उत्तिकै अपरिहार्य रहने कुरामा जोड दिंदै प्रदेश अन्तर्गत आउने खेल प्रशिक्षकहरुले विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गर्दै खेल प्रशिक्षण दिने वातावरण बनाउनेतर्फ खेल प्रशिक्षकहरुलाई अग्रसर गराइने बताए । उनले यूवाहरुलाई कृषीतर्फ आर्कषित गर्दै उनीहरुका उत्पादनको बजारीकरणका लागि पनि मन्त्रालयले योजनाहरु अघि सारेको बताए ।

मन्त्री गुरुङले पोखरा रंगशालामा निर्माणाधिन प्रदेश खेलकुद परिषदको प्रशासनिक भवन र शौचालयको समेत निरिक्षण गरेका थिए । तेस्रो पटक प्रदेश सरकारको तर्फबाट यूवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री गुरुङलाई पोखरा रंगशालामा प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङ, प्रखेपका सदस्यहरु, जिल्ला खेलकुदका अध्यक्ष तथा सदस्यहरु, प्रदेश हाप्किडोका अध्यक्ष तथा पदाधिकारीहरु, खेलाडी, प्रशिक्षक र कर्मचारीहरुले स्वागत गरेका थिए ।

गत वैशाखको पहिलो साता काठमाण्डौमा सम्पन्न चौथो हाप्किडो नेसनल च्यम्पियनसिपमा गण्डकी प्रदेशले तेश्रो स्थान प्राप्त गरेको थियो । उक्त पतियोगितामा राजकुमार परियारले स्वर्ण, मन्दिप विकले स्वर्ण, कृती गिरीले स्वर्ण, मोनालिसा मल्लले स्वर्ण, अन्जना परियारले स्वर्ण, सोयल खान, विकिसा गुरुङ र सुसान्त परियारले काश्य पदक जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close