
पोखरा स्पोर्टस । कराते प्रशिक्षक दिपक श्रेष्ठले जापानको राजधानी टोकियोमा आयोजना हुने ३२ औं गृष्मकालिन ओलम्पिकमा कराते खेलमा नेपाली खेलाडीको सहभागिता हुन नसके पनि निरास नहुन आग्रह गरेका छन ।
प्रशिक्षक श्रेष्ठले विश्व महामारीका रुपमा फैलिएको कोभिडका कारण उत्पन्न प्राविधिक कठिनाईका कारण नेपालको सहभागिता हुन नसकेकोमा निरास नहुन खेलाडी र प्रशिक्षकलाई आग्रह गरेका हुन । “पहिलो पटक ओलम्पिकमा कराते खेल समावेश हुँदा हामी निकै खुसी थियौं, हाम्रो तयारी पनि निकै अगाडी बढेको थियो”, उनले भनेका छन–“तर करातेको प्रिमियर लिग र ओलम्पिक छनोट गराउने तयारीका बीचमा कारोना र अन्य प्राविधिक कारणले कठिनाई उत्पन्न भयो ।”
टोकियो ओलम्पिक अन्तर्गत अगस्त ६ र ७ गरि दुई दिन कराते खेल आयोजना हुँदैछ । यहि जुलाई २३ बाट शुरु हुने ओलम्पिक अगस्त ८ मा समापन हुनेछ । नेपालबाट ५ खेलाडीको सहभागिता रहेको छ । नेपालले यस पटक पौडी, एथ्लेटिक्स, सुटिङ र जुडोमा आफ्नो कौशल देखाउने छ । नेपालबाट सहभागी हुने खेलाडीहरुमा पौडीका गौरिका सिंह र एलेक्जाण्डर ग्याडिमाड शाह, सुटिङकी कल्पना परियार, जुडोकी सुनिया भट्ट तथा एथ्लेटिक्सकी सरस्वती चौधरी रहेका छन ।
प्रशिक्षक श्रेष्ठले जारी गरेको विज्ञप्ती
प्रेस विज्ञप्ती
टोकियो ओलम्पिक सुरु हुन अब केहि दिनमात्र बाँकी छ । ओलम्पिकमा पहिलो पटक कराते खेललाई समावेश गराउँदा विश्वभरका कराते खेलाडी, त्यससँग सम्बन्धित प्रशिक्षकलगायत सबै अन्यन्तै खुसी भएका थियौं । स्वभाविक रुपमा नेपालको सफल खेल मध्येको एक कराते भएकाले टोकियो ओलम्पिकमा भाग लिन पाउने आशा खेलाडी र प्रशिक्षकमा हुनु स्वभाविक हुन आउँछ । त्यहि अनुसार तयारी पनि अघि बढेकै थियो । तर, समय बित्दै जाँदा कोरोना महामारीका कारण टोकियो ओलम्पिक नै एक वर्ष सरेर अहिले आयोजना हुन लागेको हामी सबैलाई जानकारी नै छ ।करातेले २ खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता अनु अधिकारी र नवीन रसाइली लाई ओलम्पिकलाई नै लक्षित गरेर प्रशिक्षणमा राखेको थियो । टोलीको प्रशिक्षकका रुपमा म रहेकोले सबै विषयमा जानकारी हुनु स्वभाविक भयो । करातेको प्रिमियर लिग र ओलम्पिक छनोट गराउने तयारीका बीचमा कारोना र अन्य प्राविधिक कारणले कठिनाई भएको थियो ।
पोर्चुगलमा अप्रिल ३० देखि २ मे, २०२१ मा करातेको प्रिमियर लिग थियो । समयमा भिसा नआइपुगेका कारण हाम्रा खेलाडीले त्यो मौका गुमाउनुपर्यो । वरियता प्राप्त हुने त्यो प्रतियोगिता गुमाउँदा हाम्रा खेलाडीले आफ्नो वरियतामा सुधार गर्ने अवसरबाट बञ्चित हुनुपर्यो । त्यस्तै फ्रान्समा ओलम्पिक छनोट खेल ११ देखि १३ जुनमा भएको थियो । कोरोना र अन्य कारणले त्यो प्रतियोगितामा पनि नेपाली खेलाडीले भाग लिन पाएनन् ।
यस्तै कारणले पहिलो पटक समावेश करातेमा हाम्रो सहभागिता कमजोर बन्दै गइरहेको थियो । त्यसबाहेक नेपाल ओलम्पिक कमिटीले पनि वाइल्ड कार्डका लागि आफ्नो तर्फ सक्दो प्रयास भएको थियो । अगस्त ६ देखि ७ सम्म हुने पहिलो पटक ओलम्पिकमा समावेश करातेमा विश्वभरका ६ तौल र काताका २ गरि ८० (पुरुष ४० र महिला ४०) खेलाडी मात्र समावेश गराउने निर्णय भएको थियो । कुल ८० मध्ये ३२ खेलाडी वरियताका आधार र आयोजक ८ गरि ४० खेलाडी विश्व कराते महासंघले छनोट गरेका थिए । त्यस्तै हरेक समूहका ३ हाइ पोजिसन खेलाडी फ्रान्समा भएको छनोट खेलबाट २४ जना छनोट भएका थिए । १२ खेलाडी विभिन्न महादेशबाट छनोट भएका थिए । बाँकी ४ खेलाडीलाई वाइल्ड कार्डको व्यवस्था गरिएको थियो । जसमध्ये एसियाली राष्ट्र कुवेत लाई एउटा वाइल्ड कार्ड प्राप्त भयो र अन्य सवै युरोप लाई ।
यी सबै कारणले गर्दा पहिलो पटक समावेश ओलम्पिकमा हाम्रो सहभागिता हुन सकेन । जसका कारण हामी कराते परिवार निराश भएका छौं । यद्दपी हामीले आउने दिनका लागि निरास नभई हाम्रा खेलाडीलाई २०२२ चीनमा हुने १९ औं एशियाली खेलकुद, २०२३ मा पाकिस्तानमा हुने १४औं साग खेल र ओलम्पिकलगायतका अन्य प्रतियोगिताका लागि तयारी अवस्थामा राख्नुपर्ने र रहनु पर्ने हुन्छ । अन्त्यमा टोकियो ओलम्पिकमा भाग लिने खेलाडी, प्रशिक्षकलगायत टोलीलाई सफलताको शुभकामना दिन चाहन्छु ।
धन्यवाद ।
दीपक श्रेष्ठ
प्रशिक्षक, कराते एवं
८औं ९ औ साग स्वर्ण पदक बिजेता
