केशव पाठक/पोखरा स्पोर्टस । नेपाली फुटबलमा मनाङ मर्स्याङदी (एमएसी)नाम नै काफी छ । मनाङ आफैमा एक फुटबल क्लव मात्रै होइन, यो गण्डकी प्रदेशको विकट भौगोलिक जिल्ला र नदीको नाम संग जोडिएको छ । त्यही भएर त होला मनाङ मर्स्याङदी भन्ने वित्तिकै पोखरेलीको क्रेज पनि उत्तिकै छ ।

एमएमसीले पोखरा रंगशालामा आफ्नै इतिहास रचेको छ । क्याराभान गोल्डकप देखि १९ औं आहा रारा गोल्डकप अनि मनकामना गोल्डकप संग । २०५८ सालमा क्याराभान खेल्न आउँदा होस वा १९ औं आहा रारा गोल्ड कप विचका यि २० वर्षमा मनाङको क्रेज पोखरामा घटेको छैन ह्वात्तै वढेको छ ।

व्यवसायिक फुटबलको इतिहासमा नेपालमा आफ्नो छुट्टै पहिचान बनाउन सफल मनाङ फेरि एक पटक चर्चामा आएको छ । त्यो हो पोखरा रंगशालालाई आफ्नो होम ग्राउण्डका रुपमा रोज्नु । पहिलो पटक शहिद स्मारक लिग होम एण्ड अवेको फम्र्याटमा हुन लागेको छ । होम एण्ड अवेको फर्मेशनले नेपाली फुटबलको विकासमा कोशे ढुङ्गा सावित हुने नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा बताउँछन ।

हुन त पोखरा पनि आफै फुटबलको राजधानी हो भन्नेमा दुई मत छैन । तत्कालिन गण्डकी अञ्चलले होस वा त्यसपछि पोखराको फुटबल विकास नयाँ स्वरुपमा निखारिंदै धेरै राष्ट्रिय खेलाडी उत्पादन गरेको इतिहास हाम्रो सामु छ । पछिल्लो समय पोखरा खेलाडी उत्पादनमा भन्दा पनि फुटबल मैदानको पूर्वाधार विकासमा अघि बढेको छ । पोखरामा राज्य र स्थानियतहबाट धेरै फुटबल मैदान निर्माण त भए तर खेल्ने खेलाडी भने शुन्य प्रायः नै छन । खेलाडी उत्पादन हुन नसक्नु यसको नेतृत्वमा बस्ने हरुले पक्कै त्यसको जवाफदेहिता खोज्न आवश्यक छ ।
यसो भन्छन एन्फा अध्यक्ष शेर्पा
मनाङले शहिद स्मारक लिगका लागि पोखरा रंगशालालाई होम ग्राउण्ड बनाउँदा गर्व व्यक्त गर्छन एन्फा अध्यक्ष शेर्पा । उनी भन्छन–“यो पोखरेलीका लागि सुवर्ण अवसर हो, निरन्तर हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सहयोग पुग्ने छ ।” मनाङले आफ्नो होम ग्राउण्डमा कम्तिमा पनि चार वटा खेल आफ्ना प्रतिद्वन्दी टिम संग खेल्नेछ । तर अध्यक्ष शेर्पा मनाङ मात्रै नभई कम्तिमा तिन देखि चार वटा टिमले पोखरालाई होम ग्राउण्डका रुपमा रोज्न सक्ने बताए । उनको भनाई अनुसार नै हो भने पनि शहिद स्मारक लिगका कम्तिमा पनि १६ वटा खेल पोखरामा हुनेछन ।
मनाङको आहा राराको इतिहास
मनाङले सहारा क्लवले आयोजना गर्ने आहा रारा गोल्डकपको इतिहास पल्टाउने हो भने २०५८ मा सम्पन्न क्याराभानमा मनाङले सेमीफइनलको यात्रा तय गरेको थियो । मनाङले आहा राराको दोश्रो, तेश्रो, दशौं, चौधौं, पन्र्धौ र अठारौं संस्करणमा उपाधी जितेको थियो भने पाँचौ, नवौं, वाह्रौ र तेह्रौंमा उपविजेता बनेको थियो । अठारौं संस्करणमा सेमीफइनलको यात्रा तय गरेको मनाङले छैटौं, सातौं, एघारौं, सोह्रौं र सत्रौं सस्करणमा सहभागि भएको थिएन ।
मनाङले किन रोज्यो पोखरा ?
मनाङ पोखरा आउनुको प्रमुख कारण भनेको नै आफ्नो ‘फ्यान’ धेरै हुनु नै प्रमुख कारण हो । फिका निलो र सेतो रङको जर्शीमा मैदानमा उत्रिने मनाङका पोखरेली फ्यान उत्तिकै छन । फ्यान मैदानमा जोश भर्न मात्रै होइन खेलको टिकटबाट हुने आम्दानीको एक हिस्सा क्लवलाई जानुले पनि ठूलो अर्थ राख्छ । जति धेरै दर्शक उति धेरै फाइदा । अहिले नेपालमा निर्माण पोखरा रंगशाला सुविधा सम्पन्न रंगशाला हो । १६ हजार ५ सय दर्शक क्षमता सहितको रंगशालाले मनाङलाई आर्थिक रुपमा पनि उत्तिकै व्यवस्थित गर्न सहयोग पु–याउने छ ।
मन्त्री मनाङेको रोजाई
प्रदेश सरकारका विना विभगिय मन्त्री राजिव गुरुङ ‘दिपक मनाङे’ लामो समय देखि मनाङ मर्स्याङदी संग जोडिएका छन । उनले नै करिव दुई वर्ष अघि बाट मनाङलाई पोखरा ल्याउन प्रयास गरेका थिए । उनको एक मात्र स्वार्थ भनेको प्रदेशको नाम संग जोडिएको क्लवले पोखरालाई होम ग्राउण्ड बनाओस जसका कारण क्लव सञ्चालनमा समेत सहयोग पुग्नेछ । काठमाडौंमा स्थापित मनाङ नेपालको चर्चित क्लवलाई प्रदेशमा भित्राएर फुटबल खेलको विकास हुन्छ भन्नेमा उनी विश्वस्त छन ।
प्रदेशका कुनै व्यपारिक प्रतिष्ठानले व्यवसायिक फुटबल विकासका लागि लगानी गरेको पाइदैन । यदि मनाङ पोखरा आएमा दर्शक संगै लगानी र फुटबल क्लवहरुलाई संस्थागत रुपमा सहयोग गर्ने क्रेज समेत वढ्छ भन्नु आंकलन मात्रै हो । देशकै ठूलो गौरवमयी इतिहास बोकेको शहिद स्मारक लिग देखि दर्जनौ राष्ट्रियस्तरका गोल्डकप जितेको मनाङले एफसी कपमा समेत आफ्नो नामलाई जोडिसकेको छ । मनाङको पोखरामा उपस्थिती कस्तो हुने हो त्यो त भविष्यले देखाउनेछ तर ए डिभिजन क्लवलले पोखरालाई होम ग्राउण्डका रुपमा रोज्नु पक्कै पनि फुटबल विकासका लागि शुखद पक्ष भने हो । जसका कारण यस क्षेत्रको खेलाडी उत्पादन र स्थानिय क्लवहरुलाई व्यवसायिक फुटबलको यात्रामा डोर्याउन सहयोगी भूमिका खेल्ने छ ।
तस्विरः सुदर्शन रञ्जित
