पाँचौ पोखरा स्पोर्टस अवार्ड  : नवीन र पार्वती वर्ष खेलाडी

पोखरा स्पोर्टस । नवीन रसाइली (कराते) र पार्वती गुरुङ (तेक्वान्दो) पाँचौ पोखरा स्पोर्टस् अवार्ड २०७६–७७ मा वर्ष खेलाडी घोषित भएका छन् । उनीहरुले जनही २ लाख प्राप्त गरेका छन् ।

विश्व खेलकुद पत्रकार दिवस अवसरमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार आयोजना गरेको अवार्ड वितरण समारोहमा वर्ष उत्कृष्ट खेलाडी पुरुष विधामा अन्यलाई पछि पार्दै उनीहरुले उपाधि जितेका हुन् । यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट केशव रञ्जित (आनन्द) लाई सम्मान गरियो । पोखरा नदीपुर निवासी आनन्दले पोखराको फुटबल विकासमा ठूलो योगदान दिएका छन् ।

कोरोना महामारीबीच पोखरा रंगशालाको ब्याडमिन्टन हलमा सेमिभर्चुअल रुपमा आयोजना गरिएको समारोहमा वर्ष उत्कृष्ट खेलाडी बन्न सफल नवीन रसाइली नेपाल प्रहरीमा कार्यरत छन् । २३ वर्षीय रसाइली १३ औं सागका स्वर्णधारी हुन् । सो विधामा टेबलटेनिसका विनेश खनियाँ र फुटबलका सुमन अर्याल थिए ।

यस्तै, वर्ष उत्कृष्ट महिला विधामा उपाधि विजेता पार्वती गुरुङको जन्म लमजुङमा भएको हो । २६ वर्षीया पार्वतीले १३ औं सागमा एक स्वर्ण र १ कास्य पदक जितेकी थिइन् । सो विधामा साइक्लिङकी जमुना थापा र तेक्वान्दोकी प्रशंसा क्षेत्री प्रतिष्पर्धामा थिए ।

१४ वर्षीया दुवाना लामा (पौडी) उदीयमान खेलाडी घोषित भइन् । सो विधामा लनटेनिसका प्रदीप खड्का र क्रिकेटका विपीन खत्री समेत थिए । साथै वर्ष उत्कृष्ट प्रशिक्षक सुरेश मल्ल ठकुरी (बक्सिङ) घोषित भए । उनी २२ वर्षदेखि निरन्तर प्रशिक्षणमा छन् । प्रशिक्षकतर्फ उत्कृष्ट ३ मनोनयनमा पौडीका आनन्द कुँवर र फुटबलका किरण श्रेष्ठ थिए । उत्कृष्ट उदीयमान र प्रशिक्षकलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो ।

मञ्चले प्रदान गर्ने वर्ष उत्कृष्ट पत्रकार अवार्डतर्फ नागरिक दैनिकका सन्देश श्रेष्ठ र पोखरा स्पोर्टस् डटकमका केशव पाठक सम्मानित भए । उनीहरुलाई जनही ३५ हजार रुपैयाँ, ट्रफी प्रदान गरियो ।

यस्तै, वर्ष उत्कृष्ट खेल संघबाट जिल्ला आर्चरी संघ कास्की सम्मानित भयो । सो वापतको पुरस्कार संघ अध्यक्ष योगेन्द्र शेरचनलाई हस्तान्तरण गरियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको समारोहमा विजेता प्रदेशका बिनाविभागीय मन्त्री राजीव गुरुङ, सांसद दीपक कोइराला, मीना गुरुङ, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्य राजेश गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषद् सदस्यसचिव तेज गुरुङ, पत्रकार महासंघ केन्द्रीय सदस्यद्वय सरिता तिमिल्सिना पगेनी, त्रिभुवन पौडेल, मञ्च अध्यक्ष एकराज गिरी लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अवार्ड समारोहको महत्वबारे प्रकाश पार्दै सरकारले खेल क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम सञ्चालन सञ्चारकर्मी मन क्षेत्री र कविता श्रेष्ठले गरेका थिए ।

मञ्च अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्च महासचिव विजय नेपालले मञ्चको गतिविधिबारे प्रकाश पारेका थिए भने धन्यवाद ज्ञापन उपाध्यक्ष रञ्जन अधिकारीले गरेका थिए ।

सो अवसरमा हास्य कलाकार दीपक थापाले हास्य प्रहसन गरेका थिए भने नेपाल मुआथाई र क्यूकोसिन फुलकन्ट्याक्ट करातेका खेलाडीले डेमो प्रस्तुत गरेका थिए । साथै एसके डान्स म्यूजिक सेन्टरका कलाकारले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा कोरोनाविरुद्ध स्वास्थ्य मापदण्ड पालना गरिएको थियो । सो कार्यक्रमको एबिसी टेलिभिजन, पोखरा टेलिभिजन, युट्युवबाट लाइभ गरिएको थियो ।

सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोगको प्रतिबद्धता भैसकेको छ । यस्तै, पोखरा लेकसिटीका तर्फबाट निर्देशक डा. विष्णु नेपालीले लाइफ टाइम अचिभमेन्ट अवार्डवापत ४० हजार, माई होटल, लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार र पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उहाँको परिवारजनबाट पत्रकार (वर्ष २०७७) लाई प्रदान गरिने अवार्डमा नगद ३५ हजार रुपैयाँ प्रायोजन सम्झौता भएको छ । साथै लाइभ पार्टनरमा एबीसी न्यूज टेलिभिजन र पोखरा टेलिभिजन, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, रेष्टुरेन्ट पाटर्नरमा मुगलान रेष्टुरेन्ट सभागृहचोक छ भने बैंकिङतर्फ लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, पोखरा फाइनान्स छन् । यस्तै केल्मी प्रालि, सिर्जना विकास केन्द्र, सिटी एजुकेसन एण्ड कन्सल्टेन्सी, राजेश गुरुङ (राखेप सदस्य), मिलन गुरुङ (एन्फा कास्की), पोषण थापा (फेवा सिल्टेसन प्रालि), राजन गुरुङ (समाजसेवी एवं युवा व्यवसायी), परिचय एड्भरटाइजिङ, एसके साउण्ड लगायत सहयोगी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close