पाँचौ पोखरा स्पोर्टस् अवार्ड आज

पोखरा स्पोर्टस । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आज (शुक्रबार) पाँचौ पोखरा स्पोर्टस् अवार्ड–२०७६/७७ हुँदैछ । मञ्चले कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा मापदण्ड कायम गर्दै पोखरा रंगशालाको ब्याण्डमिन्टन हलबाट सेमि भर्चुअलरुपमा सो समारोह गर्दैछ ।

७ विधामा प्रदान गरिने अवार्डमध्ये लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखराको फुटबल खेल विकासमा योगदान पु¥याएका केशव रञ्जित (आनन्द) र वर्ष उत्कृष्ट खेल संघ पुरस्कार जिल्ला आर्चरी संघलाई दिइने यसअघि नै घोषणा गरिएको छ । खेल पत्रकारितामा योगदान पु¥याएकामध्ये उत्कृट खेल पत्रकार (२ जना) को घोषणा समारोहमै गरिनेछ ।

यस्तै, उत्कृष्ट ३ मनोनयनतर्फ वर्ष उत्कृष्ट पुरुष विधामा नवीन रसाइली (कराते), विनेश खनियाँ (टेबलटेनिस) र सुमन अर्याल (फुटबल) परेका छन् भने वर्ष खेलाडी महिलामा जमुना थापा (साइक्लिङ), पार्वती गुरुङ (तेक्वान्दो) र प्रशंसा क्षेत्री (तेक्वान्दो) परेका छन् ।

उदीयमानतर्फ दुवाना लामा (पौडी), प्रदीप खड्का (लनटेनिस) र विपीन खत्री (क्रिकेट) तथा उत्कृष्ट प्रशिक्षकमा आनन्द कुँवर (पौडी), किरण श्रेष्ठ (फुटबल) र सुरेश मल्ल ठकुरी (बक्सिङ) मनोनीत छन् । हरेक विधामा उत्कृष्ट १ जनाले मूल कार्यक्रममा नगद सहित अवार्ड जित्ने छन् । साथै मनोनीत सबैलाई ट्रफी र प्रमाणपत्र उपलब्ध गराइनेछ ।

लाइफटाइम अचिभमेन्ट अवार्डमा चाँदीको करुवा, ताम्रपत्र, ट्रफी र दोसल्ला छ भने वर्ष खेलाडी पुरुष र महिलालाई जनही २/२ लाख, सम्मानपत्र, ट्रफी र दोसल्ला प्रदान गरिने छ । वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ, वर्ष उत्कृष्ट खेल पत्रकार (२ जना) लाई जनही ३५ हजार, सम्मानपत्र, ट्रफी र दोसल्ला दिइनेछ ।

अघिल्लो वर्ष हुन नसकेको सो अवार्ड यसपालि वर्ष २०७६/७७ दुवैलाई जोडेर संयुक्त रुपमा गण्डकी प्रदेशस्तरको प्रतिनिधित्व हुने गरी स्पोर्टस् अवार्ड प्रदान गरिने मूल आयोजक समिति संयोजक एवं मञ्च अध्यक्ष एकराज गिरीले बताए । मूल कार्यक्रमको एबिसी न्यूज टेलिभिजन र पोखरा टेलिभिजन सहित युट्वबाट शुक्रबार दिउँसो ठिक ३ बजे लाइभ प्रसारणको व्यवस्था मिलाइएको प्रचार सयोजक एवं मञ्च महासचिव विजय नेपालले बताए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा सो समारोह हुनेछ । अवार्ड समारोहमा विविध कार्यक्रमसमेत हुने छन् ।

खेलाडी छनोटका लागि मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको छ । जसको सदस्यमा केशव पाठक, दीननाथ बराल, सन्देश श्रेष्ठ, सुदर्शन रञ्जित तथा उत्कृष्ट पत्रकार छनोट समितिमा त्रिभुवन पौडेल, दीपेन्द्र श्रेष्ठ र विनोद लामिछाने एवं पदेनसदस्यमा मञ्च अध्यक्ष एकराज गिरी र महासचिव विजय नेपाल छन् ।

सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद् (राखेप), गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, कास्कीका माछापुच्छे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाले सहयोगको प्रतिबद्धता भैसकेको छ । यस्तै, पोखरा लेकसिटीका तर्फबाट निर्देशक डा. विष्णु नेपालीले लाइफ टाइम अचिभमेन्ट अवार्डवापत ४० हजार, माई होटल, लेकसाइडतर्फबाट प्रबन्ध निर्देशक तोरणबहादुर बानियाँले उदियमान खेलाडीलाई प्रदान गरिने ३५ हजार र पोखरा रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उहाँको परिवारजनबाट पत्रकार (वर्ष २०७७) लाई प्रदान गरिने अवार्डमा नगद ३५ हजार रुपैयाँ प्रायोजन सम्झौता भएको छ ।

साथै लाइभ पार्टनरमा एबीसी न्यूज टेलिभिजन र पोखरा टेलिभिजन, इन्टरनेट पार्टनरमा वल्र्ड लिंक, रेष्टुरेन्ट पाटर्नरमा मुगलान रेष्टुरेन्ट सभागृहचोक छ भने बैंकिङतर्फ लुम्बिनी विकास बैंक, मुक्तिनाथ विकास बैंक, प्रभु बैंक, पोखरा फाइनान्स छन् । यस्तै केल्मी प्रालि, सिर्जना विकास केन्द्र, सिटी एजुकेसन एण्ड कन्सल्टेन्सी, राजेश गुरुङ (राखेप सदस्य), मिलन गुरुङ (एन्फा कास्की), पोषण थापा (फेवा सिल्टेसन प्रालि), राजन गुरुङ (समाजसेवी एवं युवा व्यवसायी), परिचय एड्भरटाइजिङ, एसके साउण्ड लगायत सहयोगी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close