मार्शल आर्ट हाप्किडोको पोखरा महानगर समिति गठन, अध्यक्षमा गुरुङ

पोखरा स्पोर्टस । नेपाल मार्शल आर्टस् हाप्किडो संघले देशव्यापी संगठन विस्तार गर्ने क्रममा स्थानीय तहसम्म आफ्नो संगठन स्थापनाका लागि अघि बढेको छ ।

स्थानीय तहमा संगठन विस्तार गर्ने क्रममा बिहीबार भएको संघको एक भेलाले पोखरा महानगर समिति गठन गरेको हो । सो भेलाले अध्यक्षमा धनराज गुरुङलाई चयन गरेको छ ।

त्यसैगरी, समितीको उपाध्यक्षमा सोम शेर्पा, सचिवमा श्रीकृष्ण पराजुली र कोषाध्यक्षमा कुश्मी गुरुङ चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा सफल लामा, योक्तराज दुरा, राजु गुरुङ, विनोद पुन, दीपक थापा, मोनालिसा मल्ललगायत रहेका छन् ।

यसअघि, पोखरा महानगर समिति घोषणा कार्यक्रमको उद्घाटन गर्दै नेपाल मार्शल आर्टस् हाप्किडो संघ, गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था मगरले संगठनलाई विस्तार गर्दै हाप्किडो खेलको विकासमा अघि बढ्नुपर्ने बताए । राज्यको नजरमा अझै पनि मार्शल आर्टमा हाप्किोडो जस्ता खेलले प्राथमिकता पाउन नसकेको भन्दै उल्लेख गर्दै खेल क्षेत्रको विकासका लागि राज्यको पर्याप्त लगानी आवश्यक रहने कुरामा जोड दिए ।

संघले देशका सबै प्रदेश र जिल्लामा संगठन विस्तार गर्दै स्थानीय तहमा पनि संघलाई स्थापित गर्न लागिपरेको बताउँदै अध्यक्ष मगरले हाप्किडो संघलाई सबै स्थानीय तहसम्म पु¥याउनुपर्ने उल्लेख गरे । अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन हाप्किडो खेलले महत्वपूर्ण योगदान दिनसक्ने भन्दै अनुशासित र सक्षम खेलाडी उत्पादन गर्न संघले विशेष ध्यान दिएको बताए ।

प्रदेश खेलकुद परिषद्, गण्डकीकी कार्यकारी सदस्य तारामाया थापामगरले अन्य खेललाई जस्तै मार्शल आर्टलाई पनि परिषद्ले विशेष प्राथमिकता दिएर अघि बढ्ने बताइन् । मार्शल आर्ट खेलबाटै आफू राज्यको खेलकुद निकायमा पुग्न सफल भएको भन्दै उनले मार्शल आर्ट खेलको विकासमा आफ्नो विशेष ध्यान रहने बताइन् ।

सो अवसरमा रेडियो नेपाल, प्रादेशिक प्रसारण केन्द्र, पोखराका वरिष्ठ सञ्चारकर्मी हर्क आलेमगर र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकी प्रदेशका महासचिव रूद्र श्रीसमगरले सांगठनिक अभियानसँगै खेलको विकासमा संघले विशेष भूमिका हुने भनाइ राखेका थिए ।

नेपाल मार्शल आर्टस् हाप्किडो संघ, कास्कीका अध्यक्ष मदन जिसीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रविन गुरुङ र उपाध्यक्ष कृतिका गिरीले समेत आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close