
पोखरा स्पोर्टस । शहिद स्मारक लिग असोज ३ र राष्ट्रिय लिग कार्तिक ३० गते बाट शुरु हुने भएको छ ।
नेपाली फुटबलहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहिद स्मारक लिग असोज ३ गते र कार्तिक ३० गते बाट राष्ट्रिय लिग शुरु गरिने हुने जनाएको हो । नेपाली ‘ए’ डिभिजन सम्मिलित क्लवहरुको सहभागितामा हुने यि दुई प्रतियोगिता सम्पन्न हुन करिव ६ महिना लाग्ने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले जनाएका छन । उनले भने–“आज एन्फामा हाम्रो वैठक सम्पन्न भएको छ, यि दुई प्रतियोगिताले नेपाल फुटबलमय हुनेमा विश्वस्त छु ।”
ए डिभिजन क्लवका पदाधिकारीहरु सहित एन्फामा बसेको बैठकले शहिद स्मारक लिग र राष्ट्रिय लिग सञ्चालन गर्न निर्णय भएको अध्यक्ष शेर्पाले पोखरा स्पोर्टसलाई जानकारी दिए । बैठकले शहिद स्मारकका लागि आगामी साउन १८ गतेबाट टिम दर्ता आह्वान गर्ने निर्णय समेत गरेको छ । शहिद स्मारक प्रतियोगितामा विभागिय क्लवहरु सहित ए डिभिजनका गरी १४ टिमको सहभागिता हुने छ । गत वर्ष मछिन्द्र क्लवले उपाधी जितेको थियो ।
