
पोखरा स्पोर्टस । क्षेत्रफलका हिसावले देशकै ठूलो नगरपालिका पोखरा महानगर पालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि तर्जुमा गर्न प्रस्ताव गरेको वार्षिक नीति तथा कार्यक्रममा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माणमा जोड दिएको छ ।

पोखरा महानगर पालिकाका प्रमुख मान बहादुर जि.सीले आगामी आर्थिक वर्षका लागि तर्जुमा गर्न प्रस्ताव निति तथा कार्यक्रममा पोखरामा अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माणमा जोड दिइएको हो । निति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख जिसीले भनेका छन–“ पोखरा महानगरलाई खेलकुद सहरका रुपमा विकास गर्न नेपाल सरकार र प्रदेश सरकारको सहकार्यमा राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रियस्तरका खेल पूर्वाधार निर्माण र भएका पूर्वाधारको स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइने छ ।”
यसै गरी निति तथा कार्यक्रममा महानगरीय खेलकुद विकास समिति मार्फत् वडास्तरमा खेल प्रतियोगिता तथा प्रशिक्षण संचालन गरिने बताउँदै प्रमुख जिसीले विद्यालयमा खेल मैदान निर्माण कार्यलाई प्रोत्साहन दिँदै विद्यालय स्तरमा महानगरस्तरीय मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए । स्वास्थ्यका लागि व्यायाम कार्यक्रमलाई निरन्तरता दिँदै एक टोल, एक खुल्ला क्षेत्र, एक खुल्ला क्षेत्र एक व्यायामशाला कार्यक्रम सञ्चालन गरिने प्रस्तावित निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
महानगरले यो वर्ष देखि महानगर वर्ष खेलाडी छनोट गरी सम्मान गर्ने व्यवस्था गरिने समेत जनाएको छ ।
