पोखरा स्पोर्टस । इराक सँग हुने मैत्रीपूर्ण तथा विश्वकप छनोट लागि आज राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।
यहि जेठ १५ गते कुवेत स्थित बसरा अन्तर्राष्ट्रिय स्टेडियममा आयोजना हुने मैत्रीपूर्ण खेल र विश्वकप छनोट खेलका बाकी प्रतिष्पर्धाका लागि २३ सदस्यिय टोलीको घोषणा गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको हो ।
थ्री नेसन्स कप उपाधि जित्न सफल टोलीबाट १२ खेलाडी परिवर्तन गर्दै प्रशिक्षक अव्दुल्हा अलमुताइरीले टोली घोषणा गरेका छन् । फरवार्ड नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले राष्ट्रिय टोलीमा पुनरागमन गरका छन भने ६ जना नयाँ खेलाडी पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।
छनोट भएका खेलाडीमा मिडफिल्डर कमल थापा, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलरक्षक विशाल सुनार पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । फरवार्ड आशिष लामा र सुमन लामासँगै मिडफिल्डर पुजन उपरकोटी पनि टोलीमा फर्किएका छन् ।
टोलीमा फरवार्डद्वय भरत खवास र दर्शन गुरुङ तथा डिफेन्डरद्वय रन्जित धिमाल र निशान खड्काले अन्तिम टोलीमा स्थान बनाउन नसकेको एन्फाले जनाएको छ भने रवी पासवान पनि अन्तिम २३ मा परेका छैनन् । पहिलो पटक बन्द प्रशिक्षणमा परेका विवेक बस्नेत पनि टोलीबाट बाहिरिएका छन् । नितिन थापा, सेसेहाङ आङदेम्बे र अमित तामाङले पनि टोलीमा स्थान बनाउन सकेनन् ।
नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइ सँग जुन २३ मा, जोर्डन सँग जुन ७ र अष्ट्रेलिया सँग जुन ११ मा खेल्ने तय भइसकेको छ ।
राष्ट्रिय टोली
गोलरक्षक : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार
डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, गौतम श्रेष्ठ, रोहित चन्द, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : ऐरिक विष्ट, विशाल राई, मनिष डाँगी, कमल थापा, सन्तोष तामाङ, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा
