पोखरा स्पोर्टस । जापानमा आयोजना हुने गृष्मकालिन ओलम्पिकको तयारीमा रहेका खेलाडीहरुको प्रशिक्षण कोभिड १९ का विच भएको लकडाउनमा पनि नरोकिने भएको छ ।

केही दिन यता नेपालमा कोभिड १९ भेरियन्ट सहितको दोश्रो लहरका कारण राजधानी लगायतका ठाउँमा कडा ‘लक डाउन’ शुरु भए पनि ओलम्पिकको तयारीमा रहेका खेलाडीहरुको प्रशिक्षण भने यथावत सञ्चालन हुने भएको हो । जापानमा यहि वर्षको जुलाई २३ देखि अगस्त ८ तारिख सम्म सञ्चालन हुने ओलम्पिकका लागि वन्द प्रशिक्षणमा रहेका खेलाडीहरुको प्रशिक्षण सुचारु राख्न जिल्ला प्रशासान कार्यालयबाट अनुमती लिइएको नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्रराज श्रेष्ठले पोखरा स्पोर्टसलाई बताए ।
ओलम्पिकको तयारीमा रहेका खेलाडीहरुलाई शुरक्षित रुपमा प्रशिक्षण गराउन एनओसीले खेलाडीहरुलाई केही सुझावहरु समेत दिएको महासचिव श्रेष्ठले बताए । उनले भने–“कोभिडको नयाँ भेरियन्टले सबैलाई समस्यामा पारेको यथार्थ हो, तर पनि ओलम्पिकको यात्रामा आफ्नो तयारीमा रहेका खेलाडीलाई कुनै मनोवैज्ञानिक असर नपरोस भन्नेमा एनओसी सचेत छ ।” त्यही अनुसार खेलाडीलाई आफ्नो प्रशिक्षण स्थल सम्म आउन जान र शुरक्षित वातावरणमा प्रशिक्षण गर्न एनओसीले तयारी गरेको उनले बताए ।
नेपालले जापानमा आयोजना हुने गृष्मकालिन ओलम्पिकमा नेपालले १० वटा खेलका लागि तयारी गरिरहेको भए पनि ८ वटा खेलमा भने वाइल्ड कार्ड मार्फत निधो हुने महासचिव श्रेष्ठले बताए । उनले भने–“एथ्लेटिक्स र स्विमिङमा सहभागिता हुने पक्का भए पनि अरु खेलहरुमा भने छनोट हुन वाँकी नै छ ।” उनका अनुसार जुनको अन्त्य सम्ममा वाइल्ड कार्ड मार्फत सहभागिता जनाउने खेल र खेलाडीहरुको निधो हुने भए पनि कम्तिमा ५ वटा खेल सम्म नेपालले सहभागिता जनाउन सक्ने महसचिव श्रेष्ठले बताए ।
ओलम्पिकका लागि स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ । उनीहरु ‘यूनिभर्सियालीटी’का आधारमा ओलम्पिकका लागि छनोट भएका हुन । यता अन्य खेल मध्ये करातेका अनु अधिकारी र नविन रसाइली, आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर, तेक्वान्दोका विर बहादुर महरा, सुटिङका शुष्मिता नेपाल र कल्पना परियार, वेट लिफ्टिङका सानु चौधरी र कमला श्रेष्ठ, जुडोका ईन्द्र श्रेष्ठ र सोनिया भट्ट तथा बक्सिङकी मिनु गुरुङ भने वाइल्ड कार्डको बाटो हुँदै ओलम्पिकका लागि जापान पुग्नु पर्ने हुन्छ ।
वाइल्ड कार्ड मार्फत ओलम्पिकमा सहभागिता जनाउन आर्चरीका दुई जना खेलाडीहरु करिव तिन महिना देखि पोखरामा नै बन्द प्रशिक्षणमा व्यस्त रहेका छन । आर्चरीका ज्ञानु अवाले र तिलक पुन मगर यति बेला पोखरा रंगशालामा नै प्रशिक्षणमा रहेको र उनीहरुका लागि पनि प्रशिक्षणमा कुनै वाधा नपुग्ने गरी प्रशासन कार्यालयबाट स्विकृती लिइएको महासचिव श्रेष्ठले बताए । एनओसीका अनुसार स्विमिङको प्रशिक्षण झम्सिखेल स्थित लिंकन स्कूल, जुडोको प्रहरी प्रशिक्षण केन्द्र महाराजगञ्ज, कराते र शुटिङको सातदोवाटोमा सञ्चालन भइरहेको छ भने भारोत्तोलनका खेलाडीहरु वन्द प्रशिक्षणका लागि पोखरा आउने तयारी गरिरहेको जनाइएको छ ।
