
पोखरा स्पोर्टस । पोखरेली यूवा खेलकूद प्रेमीहरुको संस्था राजन एण्ड ब्रदर्शले सहारा क्लव पोखराद्वारा पोखरा १७ दोविल्लामा सञ्चालित सहारा एकेडेमीमा आश्रित बालकहरुलाई खेल पोशाक सँगै खेल सामाग्री प्रदान गरेको छ ।
उक्त संस्थाले शुक्रबार एकेडमी पुगेर त्यहाँ आश्रित बालकहरुलाई २५ थान ट्रयाक सुट र १० थान बल प्रदान गरेको हो । पोखरामा गत चैत १०–१२ गते सम्म स्पोर्टस क्यासलमा सञ्चालन भएको हाल सम्मकै सवैभन्दा ठूलो पुरस्कार राशीबाट वचत रकमले एकेडेमीका बालकहरुलाई ति सामाग्री प्रदान गरिएको संस्थाका अध्यक्ष राजन गुरुङले बताए ।
खेल पोशाक तथा खेल सामाग्री प्रदान गर्दै बचत रकमबाट भावी पुस्ताका खेलाडीलाई प्रोत्सहान प्राप्त होस भनेर आफूहरुले उनीहरुलाई ट्रयाक सुट र फुटबल प्रदान गरिएको अध्यक्ष गुरुङले बताए । उनले भने–“हामीले बचत रकम सहि ठाउँमा प्रयोग सँगै भावी पुस्ताका खेलाडी उत्पादन गरौं भनेर नै सहारा एकेडेमीलाई रोज्यौं, हाम्रो सानो सहयोगले उनीहरुलाई पक्कै पनि हौसला मिल्नेछ, हामी यूवा खेलाडीहरुको भविष्या उज्जवल होस भन्ने कामना गर्दछौ ।”
सो अवसरमा राजन एण्ड व्रदर्शका प्रतियोगिता संयोजक आशिष क्षेत्री, सदस्यद्वय ओम गुरुङ र अर्विन गुरुङ, स्पोर्टस क्यासलका सञ्चालक तथा कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष चन्द्र गुरुङ ‘इस्वर’ लगायत सहारा क्लवका अध्यक्ष तथा जिल्ला खेलकूद विकास समितीका सदस्य केशव बहादुर थापा, क्लवका पूर्व अध्यक्ष विरभद्र आचार्य लगायन पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सहारा क्लव पोखराद्वारा सञ्चालित उक्त एकेडेमीमा विभिन्न जिल्लाका विपन्न वर्ग २४ जना बालकहरु आश्रित छन ।
