
पोखरा स्पोर्टस । पोखरा महानगरपालिका, १८ स्थित भकुण्डेमा शनिबार सम्पन्न भएको बिद्यालय स्तरीय छात्र तर्फको शान्त मावि र छात्रा तर्फ भने जनप्रिय माविले उपाधि जितेको छ ।
शनिबार भएको फाइनल खेलमा शान्त माविले कृष्तीको भविश्य निर्माण माविलाई ३—० को सोझो सेटमा पराजित गर्दै उपाधि सहित १८ हजार नगद हात पारेको हो । उपविजेता भएको भविश्य निर्माण माविले १२ हजार नगदको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
त्यस्तै शान्त माविको भलिवल कोर्टमा भएको छात्रा तर्फको फाइनल खेलमा जनप्रिय माविले धादिङको कालिका आधारभूत बिद्यालयलाई ३—२ को सेटमा पराजित गर्दै उपाधि सहित १२ हजार नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता भएको कालिका आधारभूत बिद्यालयले ८ हजारको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा छात्र तर्फ भद्रकालि मावि तेश्रो, छोरोपाटन मावि शान्त्वना भएको छ भने छात्रा तर्फ शान्त मावि ए तेश्रो, सिद्ध वराह शान्त्वना भएको छ ।
शान्त भलिवल ट्रेनिङ सेन्टरको आयोजना, भकुण्डे युवा मञ्चको सहयोगमा वैशाख १ गते देखि संचालन भएको छात्र÷छात्रा बिद्यालय स्तरिय भलिवल प्रतियोगितामा छात्र तथा छात्रा तर्फ ८÷८ टोलीको सहभागिता रहेको प्रतियोगिता संयोजक दीनेश प्रसाद चौधरी र मञ्चका अध्यक्ष सन्तोस अधिकारीले बताए । विजेता खेलाडीहरुलाई समाजसेवी धुर्व बहादुर थापा, संयोजक चौधरी लगायले पुरस्कार वितरण गरेका थिए ।
यसैबिच उक्त प्रतियोगिताको फाइनल खेलमा रेफ्रिलाई वल हस्तान्तरण गर्दै गण्डकी प्रदेश सांसद रामजी प्रसाद बराल (जीवन) ले गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई यस्ता प्रतियोगिताले प्रवर्द्धन गर्ने बताए ।
पोखरा महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष रणबहादुर थापाले उक्त मैदान संरक्षणमा केही सहयोग गर्ने बताए । कास्की जिल्ला भलिवल संघका अध्यक्ष भिम पराजुलीले भकुण्डेको भलिवल मैदान मर्मतमा बजेट विनियोजना गर्न प्रतिनिधिहरुसंग आग्रह गरे ।
