
पोखरा स्पोर्टस । आहा ! रारा गोल्डकप उपाधि उचाल्ने दाउमा संकटा व्याइज क्लब र पाहुना टोली अफ्रिकन रुट्स एशोसियसन लागेका छन ।

पोखरामा जारी आयोजित १९ औं सस्करणको आहा ! रारा गोल्डकपको उपाधि उचाल्ने दाउमा रहेको प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमले बताएका हुन । उपाधि नजिक पुगेका दुवै टोली मध्ये पाहुना टोली अफ्रिकन रुट्सका कप्तान ड साल्भियोले आफूहरुले नेपालमा पहिलो पटक उपाधि उचाल्ने यो अवसर नगुमाउने बताए ।
पत्रकारहरुको जवाफमा आफ्नो रणनितिको चर्चा गर्दै कप्तान साल्भियोले भने–“हो मैदानमा हामी पहिलो पटक संकटा संग भेट्दैछौं तर हामी नेपाल पुलिस जस्तो शसक्त टिमलाई जितेर फाइनलमा पुगेको हुनाले हाम्रो खेलाडीहरुको हौसला निकै उच्च छ ।” उनले मैदानमा उत्रिए पछि नै संकटा संग कसरी खेल्ने भन्ने बारे अझै थप रणनितीका साथ अघि वढ्ने बताए ।
यता संकटाका प्रशिक्षक सल्यान खड्गीले उपाधि होडमा आफ्नो टिमले कुनै कसर वाँकी नराख्ने बताए । उनले भने–“हामीले उनीहरुको खेल देखेका छौं, अफ्रिकन रुट्स शसक्त टिम हो तर उपाधि हामी नै उचाल्छौ ।” उनले उपाधि उचाल्न आफूहरुले आन्तरिक तयारी गरे पनि सबै कुरा सार्वजनिक नर्गने बताउँदै भने–“अहिले नै सबै कुरा नखोलौं भोली पोखरेली दर्शकले हाम्रो खेल प्रत्यक्ष देख्नेछन, दर्शकको साथ पनि हामीले पाउने भएकोले पनि हामी उपाधि होडको निकै नजिक पुगेका छौं ।” संकटाका कप्तान सरोज दाहालले समेत यो अवसर गुम्न नदिने बताए ।
शनिवार पोखरा रंगशालामा हुने दुवै टोलीको फाइनल खेल निकै प्रतिष्पर्धात्मक हुने पूर्व राष्ट्रिय फुटबल खेलाडी केशव आनन्द रञ्जितले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“फिजिकली अप्रिकन टोली निकै फिट देखिन्छ । यो पहिला पोखरा आएर खेल्ने जस्तो अफ्रिकन टोली होइन । मैदानमा रणनिति बनाउन पनि निकै खप्पिस छ ।” मैदानको हरेक पोजिसनमा खेल्ने खेलाडीहरुको भूमिका समेत निकै अव्वल रहेको रञ्जितले बताए । उनले संकटा पहिलो पटक फाइनलमा पुगेको हुनाले खेलाडीको हौसला उच्च रहेको बताउँदै भने–“यदि पहिलो गोल संकटाले गर्यो भने पासा पल्टिन सक्छ ।”
यस्तै अर्का पूर्व राष्ट्रिय खेलाडी खेम गुरुङले समेत शनिबारको खेल निकै आर्कषक हुने तर संकटाका लागि निकै चुनौतीपूर्ण हुने बताए । उनले संकटालाई फाइनलको यात्रा तय गर्न भाग्यले निकै साथ दिएको र भोली हुने फाइनल खेलमा समेत संकटाको भाग्य वलियो भएको हुनुपर्ने बताउँदै भने–“अफ्रिकन रुट्स धेरै बलियो टिम हो, उसले मैदान बनाउने रणनिती पनि निकै राम्रो छ भने खेलाडीहरु पनि निकै फिट पनि छन ।”
१९ औं संस्करणको आहा ! रारा गोल्डकपमा उपाधि नजिक पुगेका दुवै टिम मध्ये क्यामरुनको टोली अफ्रिकन रुट्स र संकटा पहिलो पटक उपाधि जितेर इतिहास रच्ने होडमा छन । आहा ! रारा गोल्डकपमा सर्वाधिक उपाधि रच्ने इतिहास बोकेको मनाङ मर्स्याङदीले ६ पटक नेपाल पुलिसले क्याराभान गोल्ड कप सहित ६ पटक, थ्रि स्टारले ४ पटक, सहारा र नेपाल आर्मीले १/१ पटक उपाधि जितेको इतिहास छ । तस्विरः सुदर्शन रञ्जित
Aha Rara Advt

