
पोखरा स्पोर्टस । १९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न विभिन्न संघ संस्थाले सहकार्य गर्दै आएका छन् ।
पछिल्लो क्रममा स्प्यारो पे.प्रा.लि. (खल्ती) र पृथ्बी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.ले आहा रारा गोल्ड कपलाई सफल पार्न सहकार्य गरेका हुन् । स्प्यारो पे. प्रा.लि. (खल्ती) ले आहा राराको अनलाइन टिकेटीङ पार्टनरको रुपमा रहेको छ भने पृथ्बी राजमार्गले उप—प्रायोजकको रुपमा सहयोग गर्ने भएको सहारा क्लवले जनाएको छ । आहा राराको प्रतियोगिता अवधि भर अनलाइन टिकट काट्दा १० प्रतिशत ‘क्यास ब्याक’ पाउने भएको छ । क्लवका अध्यक्ष केशव बहादुर थापा, स्प्यारो पे.प्रा.लि.का सह—प्रबन्धक जोनाम भुर्तेल बिच सम्झौता पत्रमा समेत हस्ताक्षर भएको छ ।
सम्झौता अनुसार प्रत्येक खेलमा गोला प्रथाद्धारा दर्शक छनौट भएका खल्ती एक्साइटिङ फ्यान अफ म्याचको रुपमा २ हजार रुपैया प्रदान गरिने भएको छ ।
सहारा क्लवको स्थापना कालदेखि सहकार्य र सहयोग गर्दै आएका पृथ्बी राजमार्गले यस अघि उत्कृष्ट ५ विधाको पुरस्कार प्रायोजन गर्दै आएको थियो भने यस बर्ष उपप्रायोजक भएको हो । प्रा.लि.का अध्यक्ष योगेन्द्र बहादुर केसी र क्लवका अध्यक्ष केशव बहादुर थापा बिच सम्झौता पत्रमा हस्ताक्षर समेत भएको छ ।
पोखरा रंगशालामा यही चैत २१ गते देखि चैत २८ गतेसम्म आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । प्रतियोगितामा विदेशी एक क्यामरुनको अफ्रिकन रुट एसोएसन, डउला, ६ वटा नेपालका ए डिभिजनका क्लव र आयोजक सहारा क्लव सहित ८ टोलीको सहभागिता रहेको छ ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्धेश्यका साथ वि.स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजना गर्ने प्रतियोगिताबाट बचत रकम सहारा एकेडेमीमा रहेका १४ जिल्लाका २४ जना वालकहरुको भरणपोषणमा खर्च गर्दै आएको क्लवले जनाएको छ ।
Aha rara Advt
Pokhara Marathon Advt

