
पोखरा स्पोर्टस । नेपाल रेस्लिङ संघको आयोजनामा सर्वाधिक नगद पुरस्कारको रेस्लिङ (आरडब्लु) च्याम्पियनशिप हुने भएको छ ।

पर्यटकिय नगरि पोखरा रंगशालाको कभर्डहलमा चैत्र २० गते देखि हुने दुई दिने प्रतियोगितामा नेपालका ३५ जना रेसलरले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्की सदस्य सुवर्ण श्रेष्ठले च्याम्पियन रेसलरले सर्वाधिक १ लाख नगद र आर्कषक बेल्ट तथा दोश्रोले नगद ५० हजार प्राप्त गर्ने बताईन् ।

करिब २९ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगितालाई गण्डकी प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्लाई सहयोगका लागि अनुरोध गरिएको छ । सदस्य श्रेष्ठ भनिन्–“यो हाल सम्मकै सर्वाधिक नगद पुरस्कार हो, यसले खेलाडीको मनोबल पनि उच्च बनाउन मद्दत गर्छ । रेस्लिङ हेर्दा रोमान्चक हुन्छ,यतिकै जोखिमपूर्ण पनि छ ।”
आरडब्लु च्याम्पियनशिप(रिङरेस्लिङ)लाई लक्ष्य गरेर खेलाडीहरु पनि लैनचौर हनुमान चोक स्थित रिङ रेस्लिङ डोजोमा तालिम गरिरहेका छन् । अघिल्लो प्रतियोगिताका विजेता डेविड भन्छन् -“प्रतियोगिताबाटै खेलाडीको स्तर मापन हुन्छ । लक्ष्य विनाको प्रशिक्षणको कुनै अर्थ हुदैन । संघले क्यालेन्डर बनाएर प्रतियोगिताको आयोजना गरेको खण्डमा खेलाडीहरु नियमित प्रशिक्षणमा जुट्ने छन् ।” आरडब्लु च्याम्पियनशिपमा नुवाकोटे टाईगर,डेविड,युव,चटन,दिलसा,डेनीका,पल,थागुलगायतको २० जना खेलाडी रिङ रेस्लिङ डोजोमा हाल प्रशिक्षणमा जुटेका छन् ।
प्रतियोगिताको निर्णायकको भूमिकामा मुख्य निर्णायक प्रदिप पाण्डे सहायक निर्णायकहरु शिसम मनी,विकास श्रेष्ठलगायत रहने छन् ।
