किन अड्कियो पोखरा रंगशालाको निर्माण कार्य

पोखरा स्पोर्टस । पोखरा रंगशाला फुटबल स्टेडियम निर्माण कार्य यति बेला ठप्प जस्तै भएको छ ।

गत वर्षको असारमा सक्ने लक्ष्य लिएको निर्माण कम्पनीले निर्माण सम्पन्न गर्न अझै ६ महिना लाग्ने निर्माण कम्पनीले जनाएको हो । भारतको ग्रेट स्पोर्टस र नेपालको एमए कन्सट्रक्सन जोइन्ट भेन्चर कम्पनीले शुरु गरेको काम लक्षित समय भन्दा एक वर्ष ढिलो गरी धकेलिएको छ । करिव १ अर्व २८ करोड ५० लाखमा निर्माण सक्ने गरी २०७५ फागुन २६ गते तत्कालिन यूवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले शिलान्यास गरेका थिए ।

किन रोकियो कामको गति?
विश्वभरी फैलिएको कोभिड–१९ को महामारीको कारण पोखरा रंगशालाको निर्माणका लागि नेपाल सरकारले वजेट विनियोजन नर्गदा काम सक्न ढिलाई भएको निर्माण कम्पनीले जनाएको छन । यो आर्थिक वर्षका लागि पोखरा रंगशालाको निर्माण कार्यका लागि जम्मा ५० लाख बजेट विनियोजन भएको छ । बजेट अभावमा काम रोकिएको निर्माण कम्पनीको भनाई छ ।

नेपाल सरकारले बजेट विनियोजन नगरे सँगै निर्माण कम्पनीले सकिएको कामको भुक्तानी नपाउँदा काम रोकिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर दिपक बरालले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामीले करिव १० करोडको काम सकेर राष्ट्रिय खेलकूद परिषद (राखेप)मा भूक्तानी मागेका छौं तर रकम उपलव्ध नहुँदा अगाडीको काम रोकिएको छ ।” उनले राखेपमा भुक्तानीका लागि पहल भइरहेको समेत बताए ।

निर्माण कम्पनीले राखेपमा भुक्तानीका लागि पहल भइरहेको र काम सम्पन्न गर्न पनि उत्तिकै आतुर भएको जनाएको छ । प्रोजेक्ट म्यानेजर बरालले राखेप सदस्य सचिब सिलवालले भुक्तानीका लागि निकै चासो व्यक्त गरेको जनाउँदै बजेट अभावकै कारण कम्पनीले थोरै कामदारको भरमा काम गरिरहेको बताए । उनले भने–“हामीलाई यो काम छिटो सकियोस र छिटो राखेपलाई हस्तान्तरण गरौं भन्ने हो, सागमा समेत हामीले निकै खटेर काम गरेका थियौ, तर अहिले करिव करिव ठप्प जस्तै छ ।” पोखरा रंगशाला निर्माणका लागि करिव १ सय जना मजदुर खटिएका भए पनि यति बेला कम्पनीले ८ जना मजदुरको भरमा काम गरिरहेको प्रोजेक्ट म्यानेजर बरालले बताए ।

कति सकियो काम?
पोखरा रंगशालाको करिव ९० प्रतिशत काम सकिएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर बरालले जनाएका छन । १० प्रतिशत फिनिसिङको काम बजेट अभावका कारण रोकिएको छ । पोखरा रंगशालाको छानो हाल्ने, प्रि इन्जिनियरङ विल्डिङ, शौचालयको फिनिसिङको लगाएतका कामहरु यतिबेला अधुरो छन । यो काम सक्न निर्माण कम्पनीलाई अझै १२ करोडको आवश्यक्ता पर्ने बरालले बताए । “निर्माणको कार्यलाई गतिदिने भनेकै फिनिसिङ हो, तर हामी यहि काममा अल्झिनु परेको छ”, बरालले भने–“राखेपले छिटो भुक्तानी दिएमा फिनिसिङ कार्यलाई तिव्रता दिन्छौ ।”

फ्रान्समै रोकिए ३ हजार ५ सय कुर्ची
यतिवेला निर्माण कम्पनीले पोखरा रंगशालामा १६ हजार ५ सय कुर्ची जडान गरिसकेको छ । राखेपले पोखरा रंगशालाको क्षमता बढाउने भन्दै २० हजार पुर्याउने लक्ष्य लिए अनुरुप निर्माण कम्पनीले फ्रान्समा थप ३ हजार ५ सय कुर्ची अर्डर समेत गरिसकेको प्रोजेक्ट म्यानेजर बरालले बताए । “हामीले उहाँहरुले भने अनुसार अर्डर गरेका थियौं तर त्यसको निर्णयमा समेत ढिलाई हुँदा अर्डर गरेका कुर्ची अलपत्र परेका छन”, उनले भने ।

होला त अन्तर्राष्ट्रिय फुटबल म्याच ?
राष्ट्रिय खेलकुद परिषदले कोभिड पछिको खेलकुदलाई गति दिन पोखरा रंगशालामा आयोजना गर्ने भनिएको महिलाहरुको अन्तर्राष्ट्रिय फुटबल म्याच यति बेला दोधारमा परेको छ । प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र राखेपले पहल समेत गरिरहेका छन । तर एन्फा अध्यक्ष शेर्पाले पोखरा रंगशाला अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पूर्वाधार तयार नभईसकेको पोखरा स्पोर्टसलाई बताए । उनले भने–“मैले धेरै पहल गरेको छु, राखेप सदस्य सचिवज्यू समेत यसका लागि सकारात्मक भूमिका खेलेको पाएको छु, तर रंगशालानै तयार भएन भने कसरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सम्भव होला ?” उनले प्रश्न गरे ।

पोखरा रंगशालाको गहनाको रुपमा देशकै गौरवको रुपमा रहेको पोखरा रंगशालाको निर्माणको काम छिटो सक्न यतिबेला चौर्तफी रुपमा दवाव परेको छ । पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद तयारीका लागि पोखरा रंगशालाको काम छिटो सक्न र २० हजार क्षमता पुर्याउन पोखरेली खेलप्रेमीहरुले आवाज उठाएका छन ।
तस्विर सुदर्शन रञ्जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close