गण्डकी प्रदेश यू–१६ पुरुष क्रिकेटको उपाधि नवलपुरले जित्यो

पोखरा स्पोर्टस । गण्डकी प्रदेश यू–१६ पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा नवलपुर यू–१६ ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि उचालेको छ । उपाधि भिडन्तमा बलियो मानिएको कास्की फाइनलमा ६ विकेटले स्तव्ध बन्यो ।  

पोखरा क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको कास्की यू–१६ ले ३५ ओभरको निर्धारित इनिङ्समा जम्मा २८ ओभरमा १०५ रनमै समेटियो । ओपनर अनिकेत गजुरेल ले ७२ बलमा ४९ रन बनाएर केही समयसम्म पारी सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरहरू टिक्न नसक्दा टोलीले सन्तोषजनक स्कोर बनाउन सकेन । 

नवलपुरका बलर सुसिल भुसाल आजको खेलमा सर्बाधिक चम्किए । उनले ७ ओभरमा २५ रन खर्चेर ५ विकेट लिँदै कास्कीको मध्यक्रम र तल्लोक्रम लाई ध्वस्त पारे । समीर रोका र सुजन अर्याल ले २–२ विकेट लिँदै सुसिललाई राम्रो साथ दिए  ।

१०६ रनको साधारण लक्ष्य पछ्याउने क्रममा, नवलपुर यू–१६ ले २६ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । समीर न्यौपानेले आक्रामक ब्याटिङ गर्दै २८ रन २६ बलमा प्रहार गरे भने अनिश भट्टाराईले संयमित पारी खेल्दै २० रन (४७ बल) मा अविजित रहेर टिमका लागि जित सुनिश्चित गरे ।

कास्कीका बलरहरूले यथासम्भव प्रतिरोध जनाउने प्रयास गरे । सत्कार चालिसे, रिदम पाण्डे, सोनु यादव र सौरभ सिद्दीकीले समान १–१ विकेट लिए । तर कम स्कोरले उनीहरूको प्रयास पर्याप्त हुन सकेन ।

यस जितसँगै नवलपुर यू–१६ टोलीले २०२५ को गण्डकी प्रदेश यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि जित्दै शानदार प्रदर्शनमार्फत आफूलाई प्रमाणित गरेको छ । बलिङ, फिल्डिङ र ब्याटिङ तीनै विभागमा सन्तुलित प्रदर्शन गर्दै नवलपुरले फाइनल खेल आफ्नो नियन्त्रणमा राख्यो ।

प्रतियोगितामा तनहुँका सुप्रिम सुनार प्लेयर अफ दि सिरिज बने भने नवलपुरका खेलाडीद्वय समिर न्यौपाने वेष्ट व्याटर तथा शैलेस काफ्ले वेष्ट बलर घोषित भएको प्रादेशिक क्रिकेट संघ गण्डकीका सचिब सुमनराज कार्कीले जानकारी दिए ।

प्रतियोगितामा विभिन्न ६ जिल्लाको सहभागिता रहेको थियो । 

विजयी खेलाडीहरुलाई कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, नेपाल क्रिकेट संघका सदस्य सुदिप शर्मा, विद्यालय खेलकुद महासंघ गण्डकीका अध्यक्ष बिरबहादुर बुढाथोकी, विद्यालय खेलकुद महासंघ कास्कीका अध्यक्ष कृष्णबहादुर केसी, सदस्य मानबहादुर कुँवर, देवचुली नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकचन्द्र भट्टराई, प्रदेश खेलकुद परिषद् गण्डकीका पुर्व सदस्य ऋषिराम गौतम, प्रदेश क्रिकेट संघ गण्डकीका पुर्व अध्यक्ष देवेन्सन प्रजु लगायतले शिल्ड तथा मेडल प्रदान गरे ।

समापन कार्यक्रम प्रादेशिक क्रिकेट संघ गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close